मेची उद्योग बाणिज्य संघको पहलमा भोलिदेखि भन्सार खुल्ने
काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ ।
आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट आयात निर्यातको काम सूचारु हुने भएको हो ।
जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले मेची भन्सार कार्यालय तोडफोड, आगजनी र गोदाममा राखिएको सामान लुटेर लगेका थिए । भन्सार कार्यालयबाट अहिलेसम्म कुनै सामान जाँचपास गरेर आयात निर्यात भएको थिएन ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको नेतृत्वमा गएको टोलीले भन्सार प्रमुख हरिहर पौडेललाई भेटेर भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।
भन्सार प्रमुख पौडेलले आगजनीका कारण विद्युतीय उपकरण, फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि सूचारु गर्न गाहे रहेको बताएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महासचिव दिनेश शाक्य, संस्थापक अध्यक्ष पन्नलाल जैन, पूर्व अध्यक्ष केशवराज पाण्डे, पूर्व वरिष्ठ उपाध्यक्ष मोहन निरौला, कार्यकारी प्रमुख गोपाल वस्नेत, कार्यसमितिका सदस्य सन्तोष खवास, दिनेश पोखरेल लगायत, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, उपाध्यक्ष नारायण चिमरिया, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य लगायत व्यवसायीहरुले भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।
व्यवसायी नेताहरुले बाणिज्य संघको पहलमा भन्सार कार्यालयलाई आवश्यक कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतका भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबारदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको छ ।
बाणिज्य संघले अहिले भर्खरै एक विज्ञप्ति निकालेर सबै उद्योगी, व्यवसायी सुरक्षाकर्मीहरुलाई चाँडबाडहरु नजिकिएसँगै पहिलाको झै लयमा फर्किएर आफ्नो व्यवसाय सूचारु गर्न आग्रह गरेको छ ।
source: Mechinagar online