Mechi Update

काँकरभिट्टामा सशस्त्र प्रहरीको ‘बीआईटी’माथि प्रश्न, कामभन्दा प्रचार बढी

बिहिवार, भदौ १८, २०८३

काँकरभिट्टा । काँकरभिट्टा नाकामा परिचालित सशस्त्र प्रहरी बलको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) प्रभावकारी बन्न नसकेको स्थानीय व्यापारी तथा सरोकारवालाले आरोप लगाएका छन् । तस्करी नियन्त्रणका लागि गठन गरिएको भनिएको टोली मुख्य नाकामा देखिने गरी मात्र परिचालित भएको र अवैध कारोबार हुने अन्य क्षेत्रमा यसको उपस्थिति न्यून रहेको उनीहरूको दाबी छ ।

संगठनले आफ्नै नियमित जनशक्तिमाथि विश्वास नगरी छुट्टै नाममा टोली गठन गरेको भन्दै एक व्यापारीले बीआईटीको औचित्यमाथि प्रश्न उठाए। विगतमा काँकरभिट्टामै कार्यरत रहँदा व्यापारीसँग रकम लिएर सामान ओसारपसार गर्न सहयोग गरेको आरोप लागेका केही सुरक्षाकर्मीलाई नै टोलीमा राखिएको उनको दाबी छ। ती व्यापारीले जवान प्रकाश खड्कामाथि विगतमा रकम लिएर सामान पठाउने गरेको आरोपसमेत लगाए। स्रोतका अनुसार यसअघि काँकरभिट्टामा कार्यरत तीन जना सशस्त्र प्रहरी कर्मचारी हाल बीआईटीमा छन्।

बीआईटीका सदस्यहरू भन्सार कार्यालयअगाडि र कहिलेकाहीँ मेची पुलको प्रवेश क्षेत्रमा परिचालित देखिए पनि पुलको उत्तर तथा दक्षिणतर्फबाट हुने तस्करी नियन्त्रणमा यो समूहको प्रभावकारीता नियन्त्रणमा यो समूहको शुन्य उपस्थिति छ । यसले मेची पुलबाट आउने सामान्य व्यापारी र सर्वसाधारणलाई दुःख दिने र आफ्नै संगठनका अरु कर्मचारीहरुको मनोबल कम गर्ने बाहेक अन्य खासै केही नगरेको सशस्त्रकै एक जुनियर अधिकृतले बताए । काँकरभिट्टा नाकाको उत्तरपट्टी अधिकांश क्षेत्रबाट दिनमा फिटिङ्ग र रातको समयमा भारी लगाएरै तस्करी भइरहेको छ । त्यैस्तै मेची पुल दक्षिणको अवस्था पनि उस्तै हो । तर, सफारी सुट लगाएको बिआईटी भन्सार अगाडी नेपाल प्रहरी र आफ्नै संगठनका सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरु रहेको ठाँउमा मात्र सिमित छ ।

कुरा गत सोमबारको हो । सशस्त्र प्रहरी प्रस्तावित गुल्म काँकरभिट्टाका डिएसपी योगराज थापा सिक्किम सरकारले बाढी पीडितहरुको लागि पठाएको राहत सामाग्री लिएर आएको टोलीसँग भेट्न भनि यात्रुशाखा जाँदै थिए, सशस्त्रको चेकिङ्गमा एउटा सिटिमा व्यापारीले सामान कटाउन प्रयास गरिरहेका थिए । विआइटीलाई डिएसपी थापाले सामान नियन्त्रणमा लिन र सिटिसफारीलाई छोड्न निर्देशन दिए । तर, बिआईटीको टोलिले आफ्नै कमाण्डरको आदेशको पर्वाह नगरी सिटिलाई समेत भन्सारको मुद्धामा बुझाएका थिए ।

यसैबीच, भन्सार जाँचस्थलमा बीआईटी खटिएपछि सोही संगठनका अन्य सुरक्षाकर्मी किन आवश्यक परे भन्दै प्रश्न उठाएकी एक महिला व्यापारीलाई टोलीका असई महेन्द्र गुरुङले धम्की दिएको आरोप लागेको छ। ती महिलाका अनुसार गुरुङले रित्तो स्कुटरसमेत चालकसहित नियन्त्रणमा लिएर भन्सारमा बुझाइदिने धम्की दिएका थिए।

पछि भन्सार प्रक्रिया पूरा गर्ने उद्देश्यले परिसरमै राखिएको ती महिलाको सामान बीआईटीले जफत गरेको बताइएको छ। केही महिला व्यापारीले असई गुरुङमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने गरेको आरोपसमेत लगाएका छन्।

नाकामा प्रहरीको मनोबल बढाउँदै तस्करी नियन्त्रण र वैध बाटोको प्रयोगमा व्यापारीहरुलाई प्रोत्साहन नगरेसम्म बिआईटी वा अन्य नाममा प्रहरीकै अर्को जथ्था थप्नु भनेको आफ्नै संगठन कामगर्न नसक्ने भएको प्रमाणीत गर्नु हो । अझ विगतमा असुलीमै संलग्नलाई नियन्त्रणको जिम्मा दिनु भनेको चोरको हातमा चाबी दिनु जस्तै हो । त्यसैले संगठनलाई चुस्त र पारदर्शी राख्दै प्रणालीको सुधार गर्नु नै सबैभन्दा उत्तम काम रहेको सरोकारवालाहरुको बुझाई रहेको छ ।

सम्बन्धित खबर