काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाले पछिल्लो दुई दिनमा ८ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ।
सशस्त्र प्रहरीले अवैध बाटो हुँदै चोरी–पैठारी भइरहेको अवस्थामा विभिन्न सामान नियन्त्रणमा लिएको हो। बरामद सामानमा ४ लाख १३ हजार ६ सय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा तथा १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका किराना सामान रहेका छन्।
त्यस्तै, नेपालबाट भारततर्फ अवैध बाटो हुँदै तस्करी भइरहेको अवस्थामा ३ लाख रुपैयाँ मूल्य बराबरको सुपाडी र फर्सीको बियाँसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
जोरसिमल चेकपोस्टबाट किराना तथा कपडाका सामान, भन्सार ढाट र मेचीपुल आसपासबाट लत्ताकपडालगायतका सामान तथा तुर्केनी खेलमैदान आसपासबाट सुपाडी र फर्सीको बियाँ बरामद भएको जनाइएको छ।
यससँगै भदौ महिनामा मात्रै सीमा सुरक्षा गुल्म काँकरभिट्टाले ३२ लाख ३३ हजार ७ सय ३० रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।
सोही अवधिमा सशस्त्र प्रहरीले ४५ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीमा मुद्दा चलाउन बुझाएको छ। भन्सारसम्बन्धी मुद्दामा एक जनालाई मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्व नजिकिँदै गर्दा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र गस्तीलाई थप तीव्र बनाएको छ। सीमा सुरक्षा गुल्म काँकरभिट्टामा डीएसपी योगबहादुर थापाको आगमनसँगै नाकामा सुरक्षा गतिविधि बढेको छ। पछिल्ला बरामदगीलाई पनि सशस्त्र प्रहरीको बढ्दो सक्रियताको प्रमाणको रूपमा हेरिएको छ।


