Mechi Update

डेढ वर्षदेखि हराइरहेका दिलनाथ बजगाईंको शव काँकरभिट्टामा गाडिएको अवस्थामा भेटियो

बुधवार, असोज ७, २०८३

काँकरभिट्टा । करिब डेढ वर्षदेखि हराइरहेका काठमाडौंका दिलनाथ बजगाईंको शव मेचीनगरको काँकरभिट्टा दक्षिण गैरीगाउँमा गाडिएको अवस्थामा फेला परेको छ।

गैरीगाउँस्थित एक सुँगुरको खोर नजिकै गाडिएको अवस्थामा प्रहरीले आज बजगाईंको शव फेला पारेको हो। प्रहरीले जेसीबी प्रयोग गरी जमिन उत्खनन गरेर शव निकालिएको जनाएको छ। शवको अधिकांश भाग सडिसकेको अवस्थामा फेला परेको बताइएको छ।

बजगाईं झापामा क्यासिनो आउने–जाने गरेको र उनकै साथीहरूले हत्या गरी शव गाडेको स्रोतले दाबी गरेको छ। घटनामा संलग्न भएको आरोपमा काँकरभिट्टाका राम भनिने सिंहबहादुर र हाल इटाभट्टामा बस्दै आएका भारतीय नागरिक सञ्जय लामालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार बजगाईं काँकरभिट्टाको एक मनी चेन्जरबाट ५ लाख रुपैयाँ भारु साटेपछि एकाएक हराएका थिए। उनको पर्स र सवारी चालक अनुमतिपत्र भने बाहुण्डाँगीस्थित बर्मेलीटोल जाने सडकमा फेला परेको थियो।

जानकारहरूका अनुसार बजगाईंसँग मोटो रकम रहेको कारण आफ्नै साथीहरूले उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण र हत्यामा कसको संलग्नता थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

शव गाडिएको स्थान काँकरभिट्टाका राम भनिने सिंहबहादुरकै बंगुर फार्म रहेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर