Mechi Update

बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै

बुधवार, साउन १, २०८२

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रा.लि.का अध्यक्ष सचिन निरौलाले झापाको सुदुरपूर्व – उत्तरमा रहेको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका हात्ती पीडित किसानले उत्पादन गरेको गुणस्तरीय चियालाई देशभरका भान्सामा पुर्याउन बजारीकरणकोलागि चियासँग सम्बन्धित टिकटक भिडियो प्रतियोगिता गर्न लागिएको जानकारी दिए । ‘बाहुनडाँगीको चिया यहाँका किसानको जीवनसँग जोडिएको छ’, अध्यक्ष निरौलाले भने, ‘यो हात्ती प्रभावित क्षेत्र हो, त्यसमा पनि अधिकांश हात्ती पीडित किसानले जीवन निर्वाहकालागि धान खेती मासेर चियाका बुटा रोपेका छन् । आज तेही उत्पादन हामी प्रशोधन गरेर गुणसतरीय ‘जमघट’ तयारी चिया बजारमा पठाइरहेको छौं । यहाँको चिया बिक्री भएन भने बाहुनडाँगी बासीको भान्सामा आगो बल्दैन ।’ उनले प्रचार प्रसारको अभावमा जमघट तयारी चियाले नेपालको सबै क्षेत्रमा बजार लिन नसकेको बताउँदै आगामी दिनमा चिया चखाउने अभियान सुरु गर्ने बताए । ‘नेपालको चियाको ठूलो बजार भारत नै हो,’ अध्यक्ष निरौलाले भने, ‘यतिखेर भारतले तयारी चियाको मूल्य घटाइदियो, हामीले सस्तोमा बेच्न सकेनौं । अव १५ दिन सम्म यस्तै अवस्थारहे सीटीसी इण्डस्ट्रीजले ठूलो क्षति व्यहोर्ने छ ।’ भारतको बजारमा आउने मूल्यको उतार चढावले चियाको भविश्य अन्योलमा परेको उनको भनाई थियो । नेपालमा करिव  २ करोड केजी बढी तयारी चिया उत्पादन हुने र खपद भने ५०/६० लाख  मात्र हुने बताउँदै उनले बाँकी चिया भारत तथा तेस्रो मुलुक निर्यात हुने भएपनि ठूला उद्योगको प्रभाव र भारतको हेपा प्रवृतीले नेपालको चियाले खासै मूल्य लिन नसककेको उनले बताए । उनले टिकटकको माध्यमबाट जमघट चियाले ठूलो बजार पाउँने विश्वास व्यक्त गरे । बाहुनडाँगीको चिया गुणस्तरीय र स्वादिष्ट रहेको बताउँदै उनले हात्ती पीडित महिला दिदी बहिनीहरुले दुःख गरेर उत्पादन गरेको चिया विश्वास गरेर चाखीदिन आग्रह समेत गरे । ‘हामी चिया चखाउँने अभियानमा छौं,’ उनले भने । उनले साउन १ गतेबाट भद्रौ १३ गते सम्म जमघट चियाको लोगो सहितको चिया सँग सम्बन्धित टिकटक भिडियो बनाएर चिया संसारको वटसप नम्बर ९८१६००८५२१ अथवा [email protected] मा पठाउन आग्रह गरे । १३ गते सम्म आएका भिडियो अबलोट गर्ने र २१ गते नतिजा सार्वजनिक गर्ने उनले जानकारी दिए । टिकटकमा उत्कृष्ट भिडियोलाई विज्ञ जजहरुले मूल्याङ्कन गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश २१ हजार ११ र ७ हजार राशीको पुरस्कार पाउने छन् । अध्यक्ष निरौलाले पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि दोस्रो चरणको थप कार्यक्रम गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा सञ्चालकहरु समशेर बहादुर खड्का, शान्तिराम निरौला, रुप कुमार खतिवडा लगायतको आतिथ्यता रहेको थियो । उद्योगले हाल मसलादार, नन मसलादार चिया बिभिन्न प्याकेजिङ्मा उत्पादन गर्दै आएको र २ केजी भन्दा बढी खरीद गर्ने उपभोक्ताहरुलाई अनलाई डेलिभरी निःशुल्क गरिने अध्यक्ष निरौलाले जानकारी दिए ।
सम्बन्धित खबर