Mechi Update

बाढीपीडितका लागि होटल मेची क्राउनको २६ लाख सहयोग

मङ्गलवार, भदौ १६, २०८३

झापा । झापास्थित पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।
होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री खड्गप्रसाद पौडेल ‘गणेश’लाई भेटेर २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।
रोचक संयोग, सहयोग रकम हस्तान्तरण गर्ने होटल अध्यक्ष सापकोटाको आजै जन्मदिन हो। आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी विपद्मा परेका नागरिकको राहत र पुनःस्थापनाका लागि सहयोग गर्दै उनले सामाजिक उत्तरदायित्वको सन्देश दिएका छन्।
विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ। पूर्वी नेपालकै चर्चित पाँचतारे होटलमध्ये पर्ने मेची क्राउन भारतीय पर्यटकमाझ समेत लोकप्रिय छ। होटल ‘वेडिङ डेस्टिनेसन’का रूपमा समेत परिचित छ।
सम्बन्धित खबर