Mechi Update

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

आइतवार, असार २२, २०८२

मेचीनगर, २२ असार । काँकरभिट्टा खानेपानी कार्यालय अब डिजिटल स्मार्ट खानेपानीको रुपमा विकास हुँदै गइरहेको छ ।

उपभोक्ताहरुलाई छिटो छरितो सेवा दिनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आजबाट मोवाइल एप्स, वेब साइट र जीआईएस प्रविधि सुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भौगोलिक सूचना प्रणाली, मोवाइल एप्स र वेब साइटको उद्घाटन गरेर शुभारम्भ गरेका हुन् ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले काँकरभिट्टा खानेपानी नमूनाकै रुपमाअघि बढिरहेकोले अब डिजिटल प्रविधिको विकासको विकल्प नभएको बताए । सजिलो र सहज भएकाले यसलाई सबैले सदुपयोग गर्न उनले आग्रह गरेका छन् । मेचीनगरलाई पनि ९० प्रतिशत पूर्णरुपमा प्रविधिमैत्री बनाउने गरिको तयारी गरिएको उनको भनाई छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहतकुमार बुढाथोकीले अध्यक्षतासहित कुन घरमा धारा कहाँ छ, कस्तो अवस्थामा छ, पाइप घरसम्म कसरी पुगेको छ, ट्याङ्की अवस्था के छ, संस्थाको स्थापनादेखिको इतिहास, दस्तावेज लगायतका बारेमा मोवाइलबाटै हेर्न, बुझ्न सकिने बताए ।

संस्थालाई प्रविधिमैत्री बनाउदै लैजाने योजना बमोजिम आफ्ना पाइपलाइनहरुको डिजिटल म्यापिङसहित सम्पतिको व्यवस्थापनका लागि जीआईएस, मोवाइल एप्स र वेबसाइट सुरु गरिएको उनले बताए ।

संस्थाले जीआईएस, मोवाइल एप्स र वेबसाइट बनाउन चार महिनाअघि दियालो टेक्नोलोजी प्रालिले जिम्मा दिएको थियो ।

कार्यक्रममा दियालो टेक्नोलोजी प्रालिका बजार प्रमुख रोशन गौतमले संस्थालाई खानेपानी उत्पादन र वितरणलाई अटोमेशन सिस्टमबाट लैजान सहज होस् भनेर सम्पति व्यवस्थापन सफ्टवेयर, वेब साइट र स्मार्ट फोनको प्रयोग गरिएको जानकारी दिए ।

उपभोक्ताहरुले आफ्ना समस्या, कम्पेलन र डेटा हेर्नका लागि घरैमा बसेर मोवाइलबाट सुविधा लिन सकिने गौतमले बताए । उनका अनुसार रिडिङ, तालिका, स्वचालित रिडिङ, खपत युनिट, आफ्नो स्टेटमेन्ट, संस्थाको दस्तावेज लगायत एपमार्फत हेर्न सकिने छ ।

यो प्रविधिले तीनसय ६५ किलोमिटर आसपास सम्मका संस्थाका ८ हजार ४ सय उपभोक्ताहरुको डेटा संकलन गरिएको छ । मोवाइल एपको कार्यान्वनपछि खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा उपभोक्ताहरुको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

Source: Mechinagar online

सम्बन्धित खबर