मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् ।
शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका गरिएको छ ।
शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना भएको एकदिने शिविरमा प्रादेशिक अस्पताल भद्रपुरका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी रहेको थियो ।
शिविरमा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.विद्या पोखरेल, नेपाल परिवार नियोजन संघकी स्टाफनर्स प्रकृति बाँस्तोला, सहयोगी दिपा भट्टराई लगायतले स्वास्थ्य जाँच गरेका थिए ।
त्यस्तै स्वास्थ्य चौकीकी नर्स सविता प्रधान, सहयोगी सुनिता भूजेल लगायत स्वास्थ्य जाँचमा खटिएका थिए । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा प्रधान कार्कीले शिविरमा आएकाहरुमध्ये ७ जनालाई पाठेघरको मुखको क्यान्सरको आशंका गरिएको जानकारी दिइन् ।
‘११२ जनामा भीआईए परीक्षण गर्दा ७ जनामा आशंका गरिएको छ,’ प्रधानले भनिन्, ‘उनीहरुलाई थप उपचारका लागि अस्पतालमा जान सुझाव दिइएको छ ।’
यसैगरी पाठेघर खसेका २ जना महिलाहरुमा रिङ्ग समेत राखिएको उनले बताइन् । शिविरमा ११२ जनाले सेवा लिएको र ३५ हजार रुपैयाँको औषधि समेत निःशुल्क वितरण गरिएको संस्थाकी महिला विभाग संयोजक रेजिना श्रेष्ठले जानकारी दिइन् ।
स्त्रीरोग विशेषज्ञ डा.पोखरेलले पाठेघरको संक्रमणले क्यान्सरको रुप लिने जोखिम बढिरहेको भन्दै स्वास्थ शिविरले त्यसको आशंकागर्न मेचीनगरबासीलाई सहज भएको बताइन् । स्वास्थ शिविरमा आएकाहरुले आफ्ना समस्याबारे खुलेर परामर्श लिएको डा.पोखरेलको भनाई छ ।
शिविरबाट गरिव, असहाय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित भएर स्वास्थ पहुँचबाट बाहिर रहेकाहरुले राहत महसुस गरेको संस्थाकी सदस्य एवम् महिला जनचेतना केन्द्र अध्यक्ष सीता गुरुङले बताइन् ।
Source : Mechinagar online