झापाझापाका अधिकांश बजारमा भारतीय जंक फुडको खुलेआम कारोबार भइरहेको पाइएको छ। लेज, कुरकुरे, बिस्किट, चकलेट लगायतका तयारी खाद्य पदार्थसँगै कोक, स्प्राइटजस्ता पेय पदार्थ पनि भारतीय बजारबाटै भित्रिने क्रम बढ्दो छ।
विशेषगरी पानीट्यांकी लगायत सीमावर्ती बजारबाट भन्सार छलि ल्याइएका यस्ता वस्तुहरू कुनै प्रकारको गुणस्तर परीक्षणबिना नै बिक्री वितरण भइरहेका छन्। खाद्य सामग्रीमा आवश्यक परीक्षण र मापदण्ड नअपनाउँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिम बढेको सरोकारवालाहरू बताउँछन्।
अर्कोतर्फ, अधिकांश सामानमा भारतीय एमआरपी नै कायम रहेको देखिन्छ, जसले ती वस्तु औपचारिक रूपमा आयात नभएको संकेत गर्छ। यस्ता वस्तु बजारमा खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकायको अनुगमन प्रभावकारी नभएको जस्तो देखिएको छ।
यसैबीच, काँकरभिट्टामा स्थापना गरिएको खाद्य क्वारेण्टाइन र प्लान्ट क्वारेण्टाइन कार्यालयको भूमिका पनि प्रभावकारी देखिएको छैन। सीमाबाट ठूलो परिमाणमा वस्तु भित्रिँदा समेत कडाइका साथ जाँच नहुँदा ती निकायहरू केवल देखाउनकै लागि बनाइएको जस्तो भान हुने गरेको स्थानीयको गुनासो छ।
स्थानीय उपभोक्ता तथा व्यवसायीले खाद्य सुरक्षाजस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले तुरुन्तै प्रभावकारी अनुगमन र नियन्त्रण बढाउनुपर्ने माग गरेका छन्।


