Mechi Update

जेसीज सप्ताह : वीरता लेडी जेसीजद्वारा सरसफाई, डस्टबिन वितरण र ट्राफिक सचेतना

शनिवार, असार २१, २०८२

बिर्तामोड-वीरता लेडी जेसीजले ‘जेसीज सप्ताह २०२५’ अन्तर्गत हिजो शुक्रवार  एकै दिन तीनवटा महत्त्वपूर्ण सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडको सरसफाई, सहरी सौन्दर्य र ट्राफिक सुरक्षालाई केन्द्रमा राखेर आयोजना गरिएका यी कार्यक्रमहरू बिर्तामोड चौक परिसरमा सम्पन्न भएका हुन् ।

जेसीज सप्ताहको चौथो कार्यक्रमको रूपमा ‘नाला सफा गरौँ, बजार डुबान हुनबाट जोगाउँ’ भन्ने नाराका साथ बिर्तामोड चौक परिसरका नालाको सरसफाई गरिएको थियो ।

पाँचौँ कार्यक्रम अन्तर्गत ‘डस्टबिन प्रयोग गरौँ, शहर सफा राखौँ’ भन्ने नाराका साथ चौकको चारैतिर डस्टबिन राख्ने कार्य सम्पन्न भयो । छैटौँ कार्यक्रमको रूपमा ‘सुरक्षाका लागि ट्राफिक सिग्नल’ सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले लेडी जेसीजले समाज सुधारका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले सफा र सुरक्षित शहर निर्माणका लागि नगरपालिका र नागरिक समाज बीचको सहकार्य अपरिहार्य रहेको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रममा नगरपालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित इइलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, डीएसपी विजय श्रेष्ठले सरसफाई र ट्राफिक नियमको पालना सभ्य समाजको पहिचान भएको बताउनुभयो ।

उहाँले ट्राफिक सिग्नलको सही प्रयोग र सडक सुरक्षाबारे सचेतना जगाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथिहरू साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौड्याल, बिर्तामोड-४ का जनप्रतिनिधि उमेश राउत, इन्टरनेशनल लायन्सका जिल्ला प्रमुख शैलेन्द्र कुरुम्बाङ, नेवा पासा मुना पुचका अध्यक्ष दिनेश श्रेष्ठ र ट्रक व्यवसायी संघका सचिव पदम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा मूल संयोजक मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने कोषाध्यक्ष कविता ओलीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी, उपाध्यक्ष तारा बस्नेतले जेसीज आस्था वाचन गर्नु भएको थियो भने सदस्य मेघा लिम्बुले मिसन भिजन प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष शाक्यले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

source: speak corner

सम्बन्धित खबर