अर्जुनधारा, झापा । गएराति करिब १२ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ।
स्थानिय मोतीबहादुर खड्काको टिनको छानो र टिनको बेराले बनाइएको एक तले घरमा सञ्चालित ‘खड्का फर्निचर’ मा विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबारे राति १२:०५ बजे सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक नोर्जङ लामा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानिय बासिन्दाको सहयोगमा आगो राति करिब १२:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको झापाका सुरक्षास्रोतले जनाएको छ।
आगलागीबाट उद्योगमा रहेको एक थान काठ चिर्ने मेसिन र ठूलो परिमाणमा काठपात जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब रु. १२ लाख बराबरको क्षति भएको जनाइएको छ। यद्यपि घटनामा मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Source:- purbi garjan