Mechi Update

अन्तरपालिका महिला फुटबलः कनकाई उपाधिनजिक

शुक्रवार, फागुन २, २०८१

बिर्तामोड, फागुन २ । कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ३–२ गोलले पराजित गर्दै कनकाई फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

कनकाईका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो ।

त्यस्तै, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ द म्याच कनकाईकी सुशीला चौधरी भइन् । उनले नगद ५ हजार पाइन् ।

भोलि (शनिबार) अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ ।

त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

सम्बन्धित खबर