Mechi Update

बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेटको उपाधि बिर्तामोडलाई

आइतवार, माघ २०, २०८१

बिर्तामोड, माघ २० । भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

उपाधिसँगै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सीमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझायो ।

टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सुमन भट्टराईले सर्वाधिक २८ रनको योगदान गरे भने अन्य ब्याट्समेनले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईंको ६४ रन र दिपु भुजेलको ४२ रनको मद्दतले सजिलै लक्ष्य हासिल गरेको हो ।

खेलको प्लेयर अफ द म्याच सिवान्स बजगाईं भए । उनले नगद ७ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका अंकित सुवेदी भए । उनले नगद १२ हजार र ट्रफी पाए ।

उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने, बलर मेचीनगरका शिव राजवंशी, फिल्डर दमकका कुशल दंगाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की भए । फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्यो ।

यसअघि भएको बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगितामा भारतको महिला क्रिकेट टिम विजयी भयो । समय अभावमा १२ ओभरमा खेलाइएको खेलमा नेपाल महिला टिमले सामान्य ५२ रन बनाएको थियो ।

अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । त्यस्तै, ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०.२ ओभरमा लक्ष्य प्राप्त गर्यो ।

भारतका लागि हेप्पी सरकारले २३ रनको योगदान दिए पनि अन्य खेलाडीले दोहोरो अंक जोडन सकेनन् ।

पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल भारतले जितेको हो । साथै, रन रेटको आधारमा भारत विजेता बन्दै सम्मानित भएको आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले जानकारी दिए ।

सम्बन्धित खबर