Mechi Update

महिनावारी स्वास्थ्यबारे सचेतना फैलाउँदै मेचीनगर–१२ युवा समूह

शुक्रवार, भदौ १९, २०८३

झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ।

समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान र बालभद्र जनता माध्यमिक विद्यालयमा ४०० थान महिनावारीसम्बन्धी सामग्री वितरण गरेको हो।

सामग्री वितरणसँगै विद्यालयका किशोरीहरूलाई महिनावारीका बेला अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका उपायबारे जानकारीसमेत दिइएको समूहले जनाएको छ।

समूहले महिनावारीलाई लाज, डर वा संकोचको विषय नभई महिलाको प्राकृतिक स्वास्थ्य प्रक्रियाका रूपमा बुझाउनुपर्नेमा जोड दिएको छ। किशोरीहरूमा महिनावारीसम्बन्धी सही जानकारीको अभावका कारण स्वास्थ्य तथा सामाजिक समस्या आउन सक्ने भएकाले विद्यालय तहबाटै यस विषयमा सचेतना आवश्यक रहेको समूहको भनाइ छ।

युवा समूहले आगामी दिनमा पनि किशोरी स्वास्थ्य, सरसफाइ तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ। समूहले हाल ६२ हजार बढीको स्वास्थ्य सामाग्री वितरण गरिएको कार्यवाहक अध्यक्ष अनुप दाहालले जानकारी दिनुभयो ।

सामाजिक सेवामा सक्रिय समूह                                                                                                                                           मेचीनगर–१२ युवा समूहले यसअघि पनि विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। समूहले रक्तदान कार्यक्रम, बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन, सार्वजनिक फलैँचा निर्माण, लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमलगायतका गतिविधि गर्दै आएको हो।

२०८१ सालको तिहारमा देउसी–भैलोबाट संकलित रकमबाट सार्वजनिक फलैँचा निर्माण गरी २०८१ पुस २४ गते उद्घाटन गरिएको थियो। विद्यालय जाने विद्यार्थीलाई स्कुल बस पर्खन सहज होस् भन्ने उद्देश्यले फलैँचा निर्माण गरिएको समूहले जनाएको छ।

त्यस्तै, विभिन्न बिरामीको उपचारका लागि समूहले आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरेको छ। पदम विश्वकर्माको उपचारका लागि चारआली युथसँगको सहकार्यमा १४ हजार रुपैयाँ, रिता राईको उपचारका लागि २८ हजार रुपैयाँ तथा सुरज मगरको उपचारका लागि ५५ हजार रुपैयाँ सहयोग संकलन गरिएको समूहले जनाएको छ।

समूहले रक्तदान कार्यक्रमसँगै होली लाइभ म्युजिकल कन्सर्ट तथा माघे सङ्क्रान्तिको अवसरमा लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिसकेको छ।

कार्यक्रमको नेतृत्व संस्थाका सल्लाहकार संयोजक अमित खुम्बुले आगामी दिनमा संस्थाले यस्तै समाजलाई सुधार गर्ने र चेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । समूहले आफ्नो सामाजिक अभियानलाई ‘युवाको एकता, समाजका लागि सेवा’ भन्ने मूल भावनाका साथ अघि बढाउँदै आएको जनाएको छ।

सम्बन्धित खबर