झापा । मेचीनगर–४ डिमारकेसनका ७ वर्षीय सम्भव बुर्जा मगरको मृत्यु प्रकरणले विद्यालय बस सञ्चालनमा हुने लापरबाही र बाल सुरक्षाको कमजोर अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। धुलाबारीस्थित होलीबेल स्कुलमा अध्ययनरत सम्भव विद्यालयबाट घर फर्किने क्रममा आफ्नै विद्यालयको बसबाट ओर्लिएपछि दुर्घटनामा परेका थिए।
२०८३ असार ३० गते बेलुकी विद्यार्थी लिएर आएको विद्यालय बस पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। सम्भवको घर सडकको उत्तरतर्फ रहेको र बसबाट ओर्लिने ढोका पनि उत्तरतर्फ नै पर्ने भएकाले उनलाई घरअगाडि सहज र सुरक्षित रूपमा ओराल्न सकिने अवस्था रहेको स्थानीय र परिवार पक्षको भनाइ छ। तर, बसका चालक र सहचालकले बस घरअगाडि नरोकी केही पर पुर्याएका थिए।
परिवार पक्षका अनुसार बस केही पर पुगेपछि घुमाएर विपरीत दिशाबाट पुनः घरभन्दा केही पश्चिमतर्फ ल्याइएको थियो। त्यसपछि सम्भवलाई बसबाट ओरालेर बसको अगाडिपट्टिबाट घरतर्फ पठाउने क्रममा दुर्घटना भएको बताइएको छ। सोही बेला पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७–प १८४१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
शुधिर कुमार दासले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट सम्भव गम्भीर घाइते भएका थिए। परिवार पक्षका अनुसार सहचालकले सम्भवको सर्टको कलर समातेको अवस्थामै उनी मोटरसाइकलमा ठोक्किएका थिए। बसको अगाडिपट्टिको भागबाट बालकलाई घर पठाउँदा ब्लाइन्ड स्पट बनेको र त्यसकै कारण चालक, सहचालक तथा बालकले आउँदै गरेको मोटरसाइकल देख्न नसकेको आशंका गरिएको छ। दुर्घटनालगत्तै सम्भवलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएको केही बेरमै उनको मृत्यु भएको थियो।
घटनापछि विद्यालय बसका चालक अशोक कुमार गुभाजु र सहचालक गोपाल बहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई साउन १४ गते जिल्ला अदालत झापाले साउन १३ गतेदेखि लागू हुनेगरी ५ दिनको म्याद थप गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार घटनाबारे सवारी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रहरीले विद्यालयको मे १ क ५७३ नम्बरको बससमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखेको छ। घटनामा मोटरसाइकल चालक शुधिर कुमार दास र विद्यालय बसका कर्मचारीको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि सोही विद्यालयको गाडी संलग्न दुर्घटनामा दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो। छोटो अवधिमै एउटै विद्यालयका सवारीसँग जोडिएका गम्भीर दुर्घटनाले होलीबेल स्कुलको यातायात व्यवस्थापन, चालक–सहचालकको जिम्मेवारी र विद्यालय प्रशासनको निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।
मेचीनगर क्षेत्रमा निजी विद्यालयका बस तथा भ्यानहरू तीव्र गतिमा गुड्ने, पुराना सवारीलाई पहेंलो रङ्ग लगाएर विद्यार्थी बोक्न प्रयोग गर्ने, विद्यार्थी चढाउने–ओराल्ने क्रममा सुरक्षा मापदण्ड नअपनाउने र ट्राफिक तथा स्थानीय तहको अनुगमन फितलो हुने गुनासो अभिभावकहरूले लामो समयदेखि गर्दै आएका छन्।
साना बालबालिकालाई बसबाट ओराल्दा घरको ढोकासम्म सुरक्षित रूपमा पुर्याउने जिम्मेवारी विद्यालयको हुने अभिभावकहरूको भनाइ छ। “विद्यार्थीलाई बसबाट ओरालेर बाटोमा छाडेपछि विद्यालयको जिम्मेवारी सकिँदैन,” एक अभिभावकले भने, “विशेषगरी साना बालबालिकालाई घरमा सुरक्षित रूपमा पुग्ने अवस्था सुनिश्चित गर्नुपर्छ।”
सम्भवको मृत्युले विद्यालय बसलाई केवल यातायात सुविधा होइन, बाल सुरक्षासँग जोडिएको संवेदनशील जिम्मेवारीका रूपमा हेर्नुपर्ने आवश्यकता देखाएको छ। स्थानीयवासी र अभिभावकहरूले दोषीमाथि कारबाही, विद्यालय बसको नियमित फिटनेस जाँच, गति नियन्त्रण, प्रशिक्षित चालक–सहचालक, सुरक्षित पिकअप–ड्रप प्रणाली र नगरपालिकासहित ट्राफिक प्रहरीको कडा अनुगमन माग गरेका छन्।
विद्यालय जाने बालबालिका सुरक्षित रूपमा घर फर्किन पाउनु उनीहरूको आधारभूत अधिकार हो। सम्भव बुर्जा मगरको मृत्युले मेचीनगरमा विद्यालय सवारी सुरक्षाबारे गम्भीर चेतावनी दिएको छ। अब पनि सम्बन्धित निकायले समयमै कडा कदम नचाले यस्ता दुर्घटना फेरि दोहोरिन सक्ने अभिभावकहरूको चिन्ता छ।


