मेचीनगर, झापा। मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित जागेश्वर शिवालय मन्दिरको प्रवेशद्वार (गेट) निर्माण कार्यको शिलान्यास सोमबार कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गर्नुभएको छ। शिलान्याससँगै आयोजित औपचारिक कार्यक्रममा मन्दिरको संरक्षण, विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा वक्ताहरूले जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङले मन्दिरहरू केवल धार्मिक आस्थाका केन्द्र मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानका आधारसमेत भएको उल्लेख गर्दै जागेश्वर शिवालयको भौतिक विकासका लागि आवश्यक बजेट विनियोजनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जागेश्वर शिवालयलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले साउन महिनाको दोस्रो सोमबारजस्तो विशेष अवसरमा मन्दिरमा धार्मिक कार्यक्रम आयोजना हुनु स्थानीय समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै यस्ता गतिविधिले मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्वलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा विभिन्न व्यक्तित्वहरूले मन्दिरलाई धार्मिक सामग्री तथा निर्माण सामग्री सहयोग गरेका छन्। अमेरिका निवासी राधा शर्मा चौलागाईंले आफ्नो जन्मदिनको अवसर पारेर १६ किलो तौलको घण्टी मन्दिरलाई प्रदान गर्नुभएको छ। त्यसैगरी गोमा चौलागाईं न्यौपानेले जलहरी, शंख, त्रिशूललगायत पूजासामग्री सहयोग गर्नुभएको छ भने सिन्धुपाल्चोकको ठोकर्पा निवासी राजु बुढाथोकीले मन्दिरको रंगरोगनका लागि आवश्यक रङ उपलब्ध गराउनुभएको छ।
कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश दाहालले गर्नुभएको थियो। कार्यक्रममा मन्दिर निर्माणका लागि जग्गादान गर्ने स्वर्गीय भवनाथ चौलागाईंका छोरा विष्णु चौलागाईं, संरक्षक परिवारका तर्फबाट कर्णखर चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, श्रद्धालु र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन थिरप्रसाद गौतम (राम)ले गर्नुभएको थियो भने अतिथिहरूलाई संस्थाका ओम प्रकाश भण्डारीले स्वागत गर्नुभएको थियो। शिलान्यास कार्याक्रम पछि स्थानिय भजन मण्डलीले भजन किर्तन र आरति समेत गरेका थिए ।
हाल मन्दिर परिसरको सौन्दर्यीकरण, सरसफाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणका कामहरू निरन्तर अघि बढिरहेका छन्। स्थानीय समुदायको सक्रिय सहभागिता र स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगले जागेश्वर शिवालयलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानले गति लिएको आयोजकले जनाएको छ।


