मेची उद्योग वाणिज्य संघ को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका व्यवसायी आनन्द खड्का पुनः चर्चामा आएका छन्। लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय खड्का यसअघि पनि संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका व्यक्ति हुन्।
झापाको उद्योग तथा व्यापार क्षेत्रमा परिचित नाम बनेका खड्का झापा भेनियर एण्ड भेनियर उद्योग प्रा.लि. का सञ्चालकका रूपमा कार्यरत छन्। उनले प्लाइवुड, भेनियर लगायतका नेपाली उत्पादन भारत निर्यात गर्दै देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनको प्रयासलाई व्यवसायिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका खड्काले विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर सहयोग गर्दै आएका छन्। स्थानीय समुदायसँग नजिक रहेर काम गर्ने शैलीका कारण उनी व्यवसायी मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको व्यक्तित्वका रूपमा समेत परिचित छन्।
व्यवसायीहरूको साझा संस्था मेची उद्योग वाणिज्य संघले पछिल्ला केही वर्षमा प्रभावकारी र सक्षम नेतृत्वको अभाव महसुस गरिरहेको चर्चा भइरहेका बेला खड्काको उम्मेदवारीलाई धेरैले आशाको रूपमा हेरेका छन्। संघलाई व्यवसायमैत्री, पारदर्शी र सक्रिय बनाउन सक्षम नेतृत्व आवश्यक रहेको भन्दै समर्थकहरूले यसपटक खड्कालाई अवसर दिनुपर्ने धारणा राखेका छन्।
यसअघि निर्वाचनमा उम्मेदवार हुँदा धेरै व्यवसायीले उनको क्षमता र योजनालाई पर्याप्त रूपमा नबुझेको टिप्पणी समेत हुने गरेको छ। तर पछिल्ला वर्षहरूमा संघले भोगेका चुनौती र नेतृत्वको कमजोरीका कारण अहिले अनुभवी र व्यवसाय बुझेको नेतृत्व आवश्यक भएको व्यवसायीहरूको भनाइ छ।
“समृद्ध मेची, सक्षम नेतृत्व” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका खड्काले व्यवसायीहरूको हकहित, उद्योगमैत्री वातावरण निर्माण र संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी निर्वाचनमा उनको उम्मेदवारीलाई व्यवसायिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।


