नगरप्रहरीले हात जोडेर विन्ती विसाएपछि केहि भवनहरु जोगिए
मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो ।
जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी भएपनि अन्य भवनहरू जोगिएको थियो ।
दिउँसो करिव १ वजे धुलाबारी र काँकरभिट्टा बजारबाट जुलुस गर्दै नगरपालिका आएका आन्दोलनकारीलाई गेटभित्र पस्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीले रोकेको थियो ।
गेटमा रोकेपछि आन्दोलनकारीले सुरक्षाकर्मीहरूलाई ढुंगामुडा गर्न थाले । ढुंगा मुढा बर्सिन थालेपछि प्रहरीले पटक–पटक गरेर दस राउण्ड अश्रुग्यास प्रहार गर्याे । त्यसपछि आन्दोलनकारी तितर वतर भए । ढुंगाले लागेर एक जना प्रहरी घाइते भएका थिए ।
त्यहाँबाट आन्दोलनकारी धुलाबारीतिर लागे । धुलाबारीमा सांसद विश्वप्रकाश शर्मा, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, ९ र १० नम्बर वडा कार्यालय तोडफोड र आगजनी गरे ।
त्यतिखेर सम्ममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आफू सुरक्षित हुन र कार्यालय फर्किन माथिबाट निर्देशन आएपछि सबै प्रहरी सरकारी कार्यालयहरूबाट व्याक भएका थिए ।
सुरक्षाकर्मी व्याक भएपछि आन्दोलनकारी फेरि नगरपालिका आएर कार्यालयमा नेपालको झण्डा राखेर अनि सुरू गरे वितण्डा ।
मुख्य भवनको राजश्व शाखा, नगरप्रमुखको कार्यकक्ष लगायतका कोठामा तोडफोड र आगजनीले पूर्णरूपमा ध्वस्त भएको थियो । अन्य शाखाका कोठाहरूका ससिा र सामानहरू सबै तोडफोड भएको थियो ।
आन्दोलनकारीले नगरपालिकाको पश्चिमतर्फ रहेको नगरसभा भवनको सिसा, जेसीवी, नगरप्रहरी चढ्ने गाडी र टिपरका सिसाहरू फुटाईदिएका थिए । उपप्रमुख चढ्ने गाडी समेत जलाएका थिए ।
उत्तरतिर रहेको स्वास्थ्य शाखा, कृषि शाखाको भवन र दमकल भने जोगिएको थियो । नगरप्रहरीले आन्दोलनकारीलाई हात जोडेर विन्ती विसाएपछि ती शाखाका भवन जोगिएको थियो ।
नगर प्रहरी प्रकाश बानियाँका अनुसार पहिलो चोटी आन्दोलनकारी आउँदा समस्या भएन, पछि फेरि आएर तोडफोड र आगजनी गर्न थालेपछि हामीलाई धेरै त्रास भएको थियो । तर, पनि हामीले सकेसम्म सम्झाउने प्रयास गर्याे ।
तपाईं हाम्रै सम्पति हो, हाम्रै करबाट बनिएको हो, नगरवासी विरामी पर्दा यहीँबाट औँषधि लानु पर्छ, काहीँ आगलागी भयो भने दमकल चाहिँन्छ, किसानका समानहरू छन् भनेर हात जोडेर हार गुहार गरेपछि स्वास्थ्य, कृषि, सभाहलको भवन र दमकल जोगाउँन सकिएको बानियाँको दावी छ ।
पछिल्लो समय नगरप्रहरीलाई कार्यालयले गाडी दिएपछि काममा केही सहज भएको नगरप्रहरीका इन्चार्ज श्याम गिरीले बताए । तर, आन्दोलनकारीले त्यो गाडीमा पनि तोडफोड गरेर सिसा फुटाइदिएको बताए ।
उनका अनुसार आन्दोलनका बेला हामीले केही भवन हात जोडेर जोगाएकँै हो, आँखा अगाडि दनदनी जलेको कार्यालयको भवनमा दमकलबाट पानी समेत हाल्न पाइएन । दमकलबाट पानी हालेको थाहा पाए काटिदिन्छौ भनेर आन्दोलनकारीहरूले धम्की दिएपछि हामी चुप लागेर बस्नुको विकल्प थिएन ।
नगरप्रमुख, उपप्रमुख, विरिष्ठ प्रशासकीय अधिकृत, सांसदहरू, नेताहरूको घर, वडा कार्यालयहरू जल्दा समेत दमकल प्रयोग गर्न नपाएकोमा दुःख लागेको इन्चार्ज गिरीको भनाई छ ।
अहिले नगरपालिका, वडा कार्यालयहरूको तोडफोड र आगजनी भएका भवन, सामनहरूको मुचुल्का र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
सबै वडा, नगरपालिका कार्यालयको क्षतिको विवरण र सरसफाइ भएपछि नगरप्रमुखसँग सल्लाह गरेर चाँडै कार्यालय सञ्चालनमा ल्याइने उनले बताए ।
सोमबार नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू नगरपालिका आएर जनतालाई कसरी छिटो सेवा प्रवाह गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।