देशभर धार्मिक र सांस्कृतिक उल्लाससहित हरितालिका तिज पर्व मनाइँदै
झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ।
पौराणिक कथाअनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन्। आफ्ना साथीहरूले उनलाई हरित (हरण) गरी वनतिर लगेर तप गर्न प्रेरित गरेकाले यस पर्वको नाम हरितालिका रहन गएको विश्वास गरिन्छ। लामो समय उपवास गरी शिवलाई प्रसन्न पारेपछि पार्वतीको विवाह शिवसँग भएको स्मरणमा तिज पर्व सुरु भएको मानिन्छ।
यस दिन महिलाहरूले निराहार बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गरी दाम्पत्य जीवनको दीर्घायु, परिवारको सुख–शान्ति र समृद्धिका लागि प्रार्थना गर्ने परम्परा छ। अघिल्लो दिन दर खाई तिजमा निराहार बस्ने परम्परा आज पनि प्रचलित छ।
तिज पर्व केवल धार्मिक नभई सांस्कृतिक र सामाजिक महत्त्व बोकेको चाड हो। माइती घर फर्केर दिदी–बहिनीबीच भेटघाट, खुसी बाँड्ने, गीत–नृत्य गर्ने र महिलाहरूको एकता प्रदर्शन गर्ने अवसरका रूपमा पनि यसलाई लिइन्छ।
आज देशका प्रमुख शिवालयहरू – पशुपतिनाथ, गोकर्णेश्वर, हलेसी, देवघाटलगायतका मन्दिरहरूमा विहानैदेखि भक्तजनको भीड देखिएको छ। परम्परागत पहिरन, रातो साडी र हरियो चूडापोतेमा सजिएका महिलाहरूले पूजा अर्चना गर्दै शिव–पार्वतीको कृपा प्रार्थना गरिरहेका छन्।
समाजशास्त्रीहरूका अनुसार तिज पर्वले महिला सशक्तीकरण, परिवारिक सम्बन्ध मजबुत बनाउन र समाजमा सामूहिक एकता बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।