बोट देखि ओठ सम्म चियालाई चिनाउन “चिया विज्ञ सँग विद्यार्थी अभियान” सुरु
मेचीनगर । झापाको बाहुण्डाँगीस्थित चिया संसार प्रालि ले उत्पादन गर्दै आएको ‘जमघट चिया’लाई घरघरमा पुर्याउने उद्देश्यसहित थालिएको प्रवर्द्धनात्मक अभियान प्रभावकारी बन्दै गएको छ। कम्पनीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ।
कलाकर्मी, सामाजिक अभियन्ता, सेलिब्रेटीदेखि आम उपभोक्तासम्म जमघट चियाको टिकटक बनाउँदै प्रचारमा जुटिरहेका छन्। चिया बगानमै पुगेर भिडियो बनाउनेको संख्या समेत दिनप्रतिदिन बढ्दो छ।
यसैबीच, सोमबार मेचीनगर–६ स्थित नर्थपोइन्ट अंग्रेजी माध्यमिक विद्यालयका ७० जना विद्यार्थी उद्योग परिसरमा पुगेर चियाको खेतीदेखि प्रशोधनसम्मको प्रक्रिया नजिकबाट अवलोकन गरे। शिक्षक विकास राउत र श्रृजना लिम्बूको नेतृत्वमा पुगेका विद्यार्थीहरुले हरियो पातबाट तयार पारिने चिया कसरी उद्योगमा प्रशोधन हुन्छ भन्ने विषयमा गहिरो चासो देखाए।
उद्योगको अवलोकनपछि विद्यार्थीहरूसँग राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्राविधिक अनन्त ढुंगानाले चिया खेतीको इतिहास, बजार व्यवस्थापन, प्रसोधन प्रक्रिया र यसका स्वास्थ्य फाइदाहरूबारे जानकारी गराए।
‘विद्यार्थी चिया विज्ञसँग’ कार्यक्रम उद्योगको दीर्घकालीन अभियानको सुरुआत रहेको चिया संसार प्रालिका अध्यक्ष सचिन निरौलाले बताए। उनका अनुसार, “उद्योगले उत्पादन मात्रै होइन, उपभोक्तालाई चियाको आवश्यकता र महत्व बुझाउनु पनि आफ्नो जिम्मेवारी ठान्दछ। यही उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।”
उद्योगले हालसम्म १० लाखभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘जमघट चिया’का टिकटक भिडियो हेरेको दाबी गर्दै ३२ वटा टिकटक भिडियोहरू प्राप्त भइसकेका र एक सय भिडियो तयार पार्ने लक्ष्य राखिएको जनाएको छ। निरौलाका अनुसार, “देश–विदेशबाट समेत चियासँग जोडिएका भिडियोहरु आइरहेका छन्, जुन अभियानकै सफलताको सूचक हो।”
साथै उनले स्थानीय उत्पादनलाई साथ र सपोर्ट गर्दै जमघट चिया एक पटक पिएर हेर्नुहोस् स्वाद, गुण र परिश्रमको अनुभव छुट्टै हुने बताए ।