मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ।
शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो। कार्यक्रम पशुपति माध्यमिक विद्यालय, नागरिक समाज बाहुण्डाँगी, पूर्वविद्यार्थी समाज बाहुण्डाँगी, सरस्वती माध्यमिक विद्यालय तथा मेचीनगर–४ वडा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अम्बर बहादुर बुढाथोकीसहित पूर्व शिक्षक प्रेम कुमार क्षेत्री, सञ्चारकर्मी चन्द्र भण्डारी, समाजसेवी राम कट्टेल, बालकृष्ण थपलिया लगायतले शर्माको दीर्घकालीन योगदानबारे चर्चा गर्दै उहाँलाई ‘बाहुण्डाँगीको शैक्षिक अभिभावक’को रूपमा प्रस्तुत गरे।
ध्रुव कुमार शर्माको सेवा यात्रा पशुपति प्रावि बाहुण्डाँगीबाट प्रारम्भ भई राष्ट्रपति कार्यालयको उपसचिव पदसम्म पुगेको छ। शिक्षण पेशामार्फत बाहुण्डाँगीको शैक्षिक जग मजबुत बनाउन भूमिका निर्वाह गर्नुभएका उहाँले निजामती सेवामा रहँदा पनि आफ्नो कर्मथलोको विकासमा प्रत्यक्ष ध्यान पुर्याउनुभएको थियो।
सम्मान ग्रहण गर्दै शर्माले शिक्षण पेशामै रहनका लागि काठमाण्डौंमा अध्ययन गर्न जाँदा बेतलबी विदा नपाएर पुनः विद्यालय फर्किनु परेको अनुभव सुनाउँदै त्यसबेलाको कठिनाइका बाबजुद पनि विद्यालयलाई माध्यमिक तहमा उकास्ने हुटहुटीबाट प्रेरित भएको बताउनुभयो।
"यो सम्मान मेरो जीवनको एक महत्वपूर्ण खुसी हो," शर्माले भावुक हुँदै भन्नुभयो, "आज मेरो विगतका समर्पण र निष्ठाको कदर भएको महसुस गरिरहेको छु।"
हाल अमेरिका बसोबास गरिरहनुभएका शर्माले आफ्नो सम्पूर्ण सेवा अवधिभर बाहुण्डाँगी र शिक्षा क्षेत्रलाई कहिल्यै बिर्सन नसकेको पनि बताउनुभयो।
कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा नागरिक समाज बाहुण्डाँगीका अध्यक्ष निलकण्ठ तिवारी, समाजसेवी धर्मप्रसाद सुवेदी लगायतले कार्यक्रमको गरिमा र महत्वको सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन पोषक दर्जीले गर्नुभएको थियो भने संयोजन शिक्षासेवी प्रोफेसर हेमराज कार्कीले गर्नुभएको थियो। त्यस्तै वडाको तर्फबाट यस्ता किसिमका अग्रजहरुलाई सम्मान र अनुजहरुलाई शिक्षा दिने कार्यक्रमहरु आगामी दिनहरुमा समेत रहेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भयो ।