धुलाबारी, १६ असार । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको पारिजातले यसपालि पनि राम्रो नतिजा ल्याउन सफल भएको हो ।
विद्यालय परिसरमा सोमबार आयोजित कार्यक्रमकाबीच एसईईमा उत्तीर्ण भएका विद्यार्थीलाई बधाइ तथा शुभकामना व्यक्त गरिएको छ । पारिजात स्कूलबाट एसईईमा चार जीपिए ल्याउन सफल नुब्सा थलङसहित ४० जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
२०८१ सालको एसईई परीक्षामा पारिजातबाट सहभागी २२ जना विद्यार्थीले ३.६ देखि ४ जीपिए ल्याएर उतीर्ण भएका छन् । यस्तै, ३.२ देखि ३.६ जीपिए ल्याएर १५ जना विद्यार्थी पास भएका छन् भने २.८ देखि ३.२ जीपिए ल्याएर ३ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।
४ जीपिए ल्याएर विद्यालयको नाम उँचो राख्न सफल भएकी नुब्साले आत्मबलका साथ पढाइमा ध्यान दिनसके नतिजा उत्कृष्ट ल्याउन सकिने प्रतिक्रिया दिइन् । उनी पारिजात स्कूलमा कक्षा नर्सरीबाट अध्ययन गरेकी विद्यार्थी हुन् ।
विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठले एसईईको नतिजाले विद्यालय परिवार गौरवान्वितका साथै थप हौशला बढेको बताए । उनले विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता र सहयोगी अभिभावकका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
उनीसँगै मेचीनगरमा अर्की छात्राले पनि ४ जीपिए ल्याउन सफल भएकी छन् । २०८१ सालको एसईईमा ४ जिपीए ल्याएर मेचीनगरमा सर्वोत्कृष्ट बन्न सफल अर्की धुलाबारी स्थित इष्ट होराइजन माविकी अन्वेषा श्रेष्ठ हुन् ।
source : Mechinagar online