Mechi Update

होराइजनमा एसईई पास गरेका र पूर्व विद्यार्थीबीच अनुभव साटासाट

सोमवार, असार १६, २०८२

मेचीनगर, १६ असार । धुलाबारी स्थित इष्ट होराइजन माविले भर्खरै एसईई पास गरेका र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट र बधाई कार्यक्रम गरेको छ । सोमबार विद्यालय परिसरमा २०८१ सालको एसईई र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव आदान प्रदान र बधाई कार्यक्रम गरेको हो । विद्यालयबाट यसअघि कक्षा १२ पास भएर गएका प्रवेश दाहाल, उत्साह पौडेलले पढाई मात्र सबै कुरा होइन, विद्यालयमा हुने अन्य प्राविधिक विषयहरुमा पनि मेहेनत गर्न सके सफल हुन समस्या नहुने बताए । तोरी पिसाएपछि मात्र तेल निस्कन्छ, त्यस्तै अभिभावक, विद्यालयको वातावरण, शिक्षक र व्यवस्थापनको मायाले हामीभित्र लुकेको प्रतिभा पनि प्रस्फुटन गर्न सके असम्भव केहि नभएको उनीहरुको भनाई छ । त्यसैगरी २०८१ सालको एसईईमा ४ जिपीए ल्याएर मेचीनगरमा उत्कृष्ट बन्न सफल छात्रा अन्वेषाले पनि शिक्षक, अभिभावकहरुको माया र हौशलाले मेहेनत गर्न बल पुगेको भएको बताइन् । विद्यालयकी हेड क्यापटेन समेत रहेकी अन्वेषाले धेरै नपढे पनि कोचिङ लगायत कक्षाको पढाईलाई नै फोकस गरेर मेहेनत गरेको उनको भनाई छ । कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारी, शिक्षकहरु तुलसीराम घिमिरे, इश्वर घिमिरे, प्रेमनारायण डाँगी, पूर्व विद्यार्थीहरु प्रवेश दाहाल, उत्साह पौडेल, ४ जिपीए ल्याउने छात्रा अन्वेषा श्रेष्ठ लगायतले आ–आफ्ना अनुभव साटासाट गरेका थिए । इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईले अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए । विद्यालयले यसपटक एसईईमा १०७ जना सहभागी थिए । सहभागी सबै शतप्रतिशत पास भएका छन् । प्रिन्सिपल राईका अनुसार १०७ जना विद्यार्थीहरुमा ३५ जना ए प्लस, ४८ जना ए, २२ जना वी प्लस र २ जना वी जिपीए ल्याउन सफल भएका छन् । भर्खरै एसईईमा पास हुने र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट गरेर एक प्रकारको विद्यार्थीहरुमा उत्प्रेरणा जागोस भन्ने हिसाव यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल राईले बताए । मेचीनगरमा होराइजनले पहिलो पटक एसईईमा ४ जिपीए ल्याउन सफल भएको छ । यस्तै र–९, खुट्टिडाँगी स्थित पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बु थलङले पनि ४ जिपीए ल्याएकी छन् । Source :- mechi update
सम्बन्धित खबर