Mechi Update

मेचीनगर–२ मा सेनाको स्वास्थ्य शिविर, ६३९ जना लाभान्वित

शनिवार, असार १४, २०८२

मेचीनगर, १४ असार । आफ्नो अत्यआवश्यक काम बाहेक हत्तपत्त गणबाट बाहिर ननिस्कने नेपाली सेनाले मेचीनगरको एउटा वडामा जनमुखी सेवामा खटिएको छ । शनिबार नेपाली सेनाको चारआली स्थित अरिदमन गणले मेचीनगर–२ को वडा कार्यालयको समन्वयमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । बौद्वमोड नजिकै मेची जनसाधारण माविको परिसरमा आयोजना भएको स्वास्थ्य शिविरमा ६३९ जनाले उपचार सेवा लिएको वडाध्यक्ष दिपक बरालले जानकारी दिए । उनका अनुसार शिविरमा सेवा लिएका ६३९ जनाले मध्ये ४३७ महिला र २०२ जना पुरुष रहेका छन् । शिविरमा २७० जनाले आँखा, १७ जनाले छाती, ६१ जनाले गाइनो, १८९ जनाले अर्थो र १०२ जनाले नाक, कान र घाँटीको उपचार गराएको बरालले बताए । सेना, मेची आँखा अस्पताल झापाका डाक्टरसहितको प्राविधिक टोली खटिएको र नेपाल औषधि व्यवसायी संघ झापाले औषधिहरु वितरण गरेको थियो । अरिदमन गणका गणपति प्राजु वस्नेतले हाम्रो विभिन्न जनमुखी सेवा अन्तरगत नै यहाँ पनि स्वास्थ्य सेवा प्रदान गरिएको बताए । वडा कार्यालय र अन्य संस्थाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाई छ । गणपति वस्नेतले गतवर्ष वडा नम्बर ३ मा यस्तै शिविर आयोजना गरेको बताए । उनका अनुसार यस्ता स्वास्थ्य शिविरहरु जनप्रतिनिधिले हाम्रो संस्थालाई सहयोग गर्नु पर्यो भनेर अनुरोध गरे जतिखेरपनि जनमुखी सेवामा समर्पित हुन सकिने छ । स्वास्थ्य शिविर आयोजना गर्न सेनाको टोली शुक्रबारै विद्यालय परिसरमा आएर बसेको वडा सदस्य बेनुप राईले बताए । Source :- Mechinagar online
सम्बन्धित खबर