Mechi Update

बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि धाइजन–चारआलीलाई

आइतवार, वैशाख २१, २०८२

बाहुनडाँगी । इलामको रेडहर्ष एफसीलाई सहजै पराजित गर्दै धाइजन–चारआली एफसीले विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि जितेको छ ।

स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको फाइनल खेलमा स्पर्धी इलामको रेडहर्ष एफसीलाई ३/१ गोलअन्तरले पराजित गर्दै धाइजन चारआलीले उपाधि चुमेको हो । धाइजन–चारआलीका लागि आशिष चापागाईले ह्याट्रिक गरेका हुन् । यस्तै, इलामका लागि संगिन लिम्बूले सान्त्वना गोल गरे । खेलको सुरुवातदेखि नै धाइजन चारआलीले इलामलाई दबाबमा राखेको थियो । विजेता धाइजन–चारआलीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष एफसी इलामले ६१ हजार नगदसहित ट्रफी प्राप्त गरे ।

बाहुण्डाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा धाइजन–चारआलीका आशिष चापागाईले ५औँ, ४५औँ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । रेडहर्षका लागि संगिन लिम्बूले एक गोल फर्काए पनि जितको लागि पर्याप्त भएन । खेलको प्लेयर अफ दी म्याच, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट धाइजन/चारआलीका आशिष चापागाई घोषित भए । उनले नगद क्रमशः ५/५ र १५ हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ प्लेयर आयोजकका मनोज कार्की, बेष्ट कोच धाइजन–चारआलीकाका पुर्ण सुब्बा, बेष्ट डिफेन्स धाइजनकै सञ्जय प्रधान घोषित हुँदै जनही नगद ५/५ हजार प्राप्त गरे । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर ४ रहेका थिए ।

प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा सहयोगी दाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव निरज राईले गरेका थिए ।

सम्बन्धित खबर