Mechi Update

मेचीनगर गोल्डकपद्वारा कोशी प्रदेश स्तरिय क्रिकेट खेल्ने झापाली टिमलाई बिदाई

सोमवार, फागुन १९, २०८१

मेचीनगर । मेचीनगर गोल्डकपले कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी हुने झापा जिल्लाका क्रिकेट टिमलाई बिदाई गरेको छ । आइतबार  काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालन हुन गइरहेको पाँचौ मेचीनगर गोल्डकपको सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच झापाली क्रिकेट टोलीलाई अग्रिम विजयीको शुभकामना सहित बिदाई गरिएको हो ।

खेलाडी बिदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले खेलकुदको उर्भर भूमि झापाले स्वदेश तथा विदेशमा फुटबल, क्रिकेटलगायत थुप्रै खेलकुदको माध्यमबाट नेपालीको नाम राख्न सफल भइरहेको बताइन् ।

पछिल्लो समय नेपालमा खेलकुदमा पनि व्यवसायीक सफलता हासिल गर्न सकिने आधार बन्दै गएको उनको भनाइ छ । साथै उनले राज्यले आवश्यकताको आधारमा खेलकुद क्षेत्रमा थप लगानी बढाउनुपर्ने बताइन् ।

त्यस्तै झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले राज्यले खेलकुद क्षेत्र र खेलाडीलाई लगानी लगाउन सके त्यो खेर नजाने बताए । उनले झापाली क्रिकेट टोली सशक्त र लयमा रहेको कारण प्रतियोगितामा सफलता हासिल गर्नेमा आफुहरू विश्वस्त रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम तथा नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने प्रधानमन्त्री कप प्रतियोगिताको लागि कोशी प्रादेशिक क्रिकेट सङ्घद्वारा कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता आइतबारदेखि गिरीजाप्रसाद कोइराला क्रिकेट खेलमैदानमा सुरु गरेको छ । सोही प्रतियोगितामा सहभागी हुन झापा विराटनगर गएको हो ।

खेलाडी बिदाई कार्यक्रममा पाँचौ मेचीनगर गोल्डकप मुल आयोजक समितिका सचिव राजु कार्की, झापा जिल्ला फुटबल संघ महासचिव सुन्दर बस्नेत, एमाले नेता देवकुमार राई, पत्रकार सन्तोष आचार्य, समाजसेवी विजय डालमिया, दुर्गा सापकोटा, रोशन अग्रवाललगायतको सहभागीता रहेको थियो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरकी सदस्य भूमिका सुब्बाले गरेकी थिइन् ।

पाँचौ मेचीनगर गोल्डकप यहीँ फागुन २४ गतेदेखि चैत २ गतेसम्म काँकरभिट्टा खेल मैदानमा सञ्चालन हुँदैछ ।

सम्बन्धित खबर