Mechi Update

कोशीका ४२ कार्यालय प्रमुखलाई एआईजी गणेश ठाडा मगरको निर्देशन

आइतवार, असार २८, २०८३

इटहरी । सशस्त्र प्रहरी बल, नेपालका कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लास्थित ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखलाई सीमा सुरक्षा, राजस्व संरक्षण र मनसुनजन्य विपद् प्रतिकार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। आकस्मिक अनुगमन तथा निरीक्षणका क्रममा एआईजी ठाडा मगरले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय, सुनसरीमा कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार, लागुऔषध कारोबार तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध उच्च सतर्कताका साथ परिचालित हुन आग्रह गर्नुभयो। उहाँले आर्थिक अनुशासनमा शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्दै राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। कार्यक्षेत्रमा आचरणविपरीत काम गर्ने जुनसुकै तहका कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो। एआईजी ठाडा मगरले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, छिटोछरितो र जनमुखी बनाउन आवश्यक पूर्वतयारी गर्न निर्देशन दिनुभयो। उहाँले स्रोत–साधनको व्यवस्थापन, दक्ष जनशक्तिको तयारी तथा स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयलाई अझ सुदृढ बनाउन जोड दिनुभएको छ।
सम्बन्धित खबर