झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा विपिन गिरी र भुवन मेचे रहेका छन्। प्रहरीले दुवै जनालाई अनलाइन सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट दुई दिनको म्याद थप गरिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका विपिन गिरीको घरबाट सट्टाबाजीमा प्रयोग गरिएको मोबाइल बरामद गरिएको थियो। उक्त मोबाइलको प्रारम्भिक परीक्षणका क्रममा अनलाइन सट्टाबाजीसँग सम्बन्धित प्रमाणहरू फेला परेको दाबी गरिएको छ।
घटनापछि स्थानीय स्तरमा विभिन्न चर्चा समेत सुरु भएको छ। स्थानीय केही व्यक्तिहरूले विपिन गिरीका बुवाको राजनीतिक पहुँच तथा स्थानीय कांग्रेस नेतासँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै घटनालाई प्रभाव पार्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रहरीले भने अनलाइन सट्टाबाजी, साइबर अपराध तथा अवैध आर्थिक गतिविधिविरुद्ध निगरानी बढाइएको जनाउँदै अनुसन्धान निष्पक्ष रूपमा अघि बढाइने जनाएको छ।


