मेची उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा “गैरदलिय” भन्दै मैदानमा उत्रिएको समूहको वास्तविक राजनीतिक अनुहार खुल्दै गएको भन्दै व्यवसायी वृत्तमै चर्चा चुलिएको छ। बाहिर स्वतन्त्र र व्यवसायिक नेतृत्वको नारा दिए पनि चुनावी प्रचार सामग्रीमै दलिय प्रभाव प्रस्ट देखिन थालेपछि प्रश्नहरू उठ्न थालेका हुन्।
साँझा समूहको तर्फबाट उद्योग उपाध्यक्ष पदका उम्मेदवार भिम बहादुर कुँवरको प्रचार कार्ड सार्वजनिक भएसँगै चुनावी माहोल थप तातिएको छ। कार्डमा प्रयोग गरिएको रंग संयोजन र प्रचार शैलीले प्रत्यक्ष रूपमा दलिय प्रभाव झल्काएको भन्दै व्यवसायीहरूबीच बहस सुरु भएको छ।
यता रास्वपाले “हामी दलिय प्रतिनिधि होइनौं” भन्दै प्रचार गरिरहे पनि आन्तरिक रूपमा एमालेसँग भागबन्डा मिलाएर चुनावी तालमेल गरेको आरोप लागिरहेको छ। अध्यक्ष पद एमाले पक्षलाई छाडिएको चर्चा चलिरहँदा रास्वपाको तर्फबाट उद्योग उपाध्यक्षमा भिम कुँवर, वाणिज्य उपाध्यक्षमा नर बहादुर थापा तिलक र महिला सदस्यमा रमा आचार्य बस्नेत चुनावी मैदानमा छन्।
चुनाव नजिकिँदै जाँदा एमाले र रास्वपाका नेताहरू संयुक्त बैठक, रणनीति निर्माण र बजार केन्द्रित चुनावी अभियानमा सक्रिय देखिएका छन्। हल बाँधेर संयुक्त रूपमा भोट माग्न हिँडिरहेको दृश्यले “गैरदलिय” भन्ने नारामाथि नै गम्भीर प्रश्न खडा गरेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
विशेषगरी “पुराना दलको विकल्प” भन्दै युवाहरूलाई आकर्षित गरेको रास्वपाको अहिलेको समीकरणलाई धेरैले राजनीतिक दोहोरो चरित्रको रूपमा टिप्पणी गर्न थालेका छन्। हिजो परिवर्तनको नारा दिनेहरू आज पुरानै शक्तिसँग चुनावी सहकार्यमा देखिनु आफैंमा विरोधाभासपूर्ण रहेको प्रतिक्रिया सामाजिक सञ्जालमा समेत बढ्दो छ।


