झापा । सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी मनिष थापाले झापाको काँकरभिट्टा नाकास्थित सीमा सुरक्षा गुल्मको अनुगमन गरेका छन्।
२४ गते बिहान काँकरभिट्टा पुगेका डिआईजी थापाले सीमा सुरक्षा गुल्मको भौतिक संरचना, ब्यारेक, फिल्ड कार्यालय, कार्यालय भवन, भन्सार क्षेत्र तथा सीमा क्षेत्रमा परिचालित ड्युटी व्यवस्थाको निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा उनले सीमाबाट हुने अवैध गतिविधि, लागूऔषध ओसारपसार तथा तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न र कुनै पनि शंकास्पद गतिविधिमा तत्काल निगरानी बढाउन निर्देशन दिइएको बताइएको छ।
त्यस्तै, डग स्क्वाड परिचालन, भन्सार चेकजाँच प्रक्रिया तथा सीमा नाकामा हुने सुरक्षा परीक्षणलाई थप कडाइ गर्न पनि उनले निर्देशन दिएका छन्। भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधन, मालवाहक ट्रक तथा यात्रुहरूको सामग्रीमाथि निगरानी बढाइएको जनाइएको छ।
पछिल्लो समय सीमा नाकाबाट लागूऔषध तथा अवैध सामान ओसारपसारका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले काँकरभिट्टा क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाएको जनाएको छ।


