Mechi Update

मेची उद्योग वाणिज्य संघको चुनाव: अघिल्ला अनुभवपछि परिवर्तनको माग, भूमि पौडेलतर्फ बढ्दो व्यवसायी समर्थन

आइतवार, वैशाख १३, २०८३

धुलाबारी । मेची उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा यसपटकको चुनावलाई अघिल्ला दुई कार्यकालसँग तुलना गरेर हेरिन थालिएको छ। विगतमा नेतृत्व चयनमा देखिएको राजनीतिक हस्तक्षेप र आन्तरिक असन्तुलनका कारण संघको नेतृत्व अपेक्षाकृत कमजोर बनेको भन्दै यसपटक व्यवसायी वृत्तमा नयाँ र प्रभावकारी नेतृत्वको माग तीव्र बनेको छ।

अघिल्ला दुई निर्वाचनमा नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद र उम्मेदवार व्यवस्थापनको कमजोरीका कारण अध्यक्ष पद नेकपा एमाले समर्थित उम्मेदवारहरूले जितेका थिए। त्यसयता संघभित्र निर्णय प्रक्रियामा स्थायित्व नआएको र व्यवसायी समस्याको समाधानमा अपेक्षित परिणाम नदेखिएको गुनासो बढ्दै आएको छ।

यही पृष्ठभूमिमा यसपटकको निर्वाचनलाई व्यवसायीहरूले ‘परिवर्तनको अवसर’ का रूपमा लिन थालेका छन्। विशेषगरी हालका उद्योग  उपाध्यक्ष भूमि पौडेलप्रति व्यवसायीहरूको समर्थन क्रमशः बढ्दै गएको देखिएको छ।

व्यवसायीहरूको एक समूहका अनुसार पौडेल संगठनभित्र निरन्तर सक्रिय, समस्या बुझ्ने र प्रत्यक्ष रूपमा व्यवसायीको पक्षमा उभिने नेतृत्वका रूपमा स्थापित हुँदै आएका छन्। युवा ऊर्जा, निर्णय क्षमतामा स्पष्टता र कार्यक्षेत्रमा निरन्तर उपस्थितिका कारण उनी धेरै व्यवसायीको रोजाइ बनेको बताइन्छ।

पौडेलले हालै पत्रकार सम्मेलनमार्फत अध्यक्ष पदमा आफ्नो दावेदारी सार्वजनिक गर्दै आफू पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। उनले व्यवसायी संस्थामा नेतृत्व गर्ने आकांक्षालाई रोक्ने प्रयास गलत हुने टिप्पणीसमेत गरेका छन्।

यसबीच नेपाली कांग्रेसभित्र भने अध्यक्ष पदका लागि कपिल क्षेत्री (किशोर) लाई अघि सार्ने अनौपचारिक तयारी भएको चर्चा छ। तर पार्टीभित्रै पौडेललाई पनि व्यवस्थापन गरेर अघि बढ्नुपर्ने मत बलियो बन्दै गएको देखिन्छ।

वरिष्ठ उपाध्यक्ष ध्रुव कनालले पनि उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेकाले कांग्रेसका लागि उम्मेदवार व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। यही कारण पार्टीभित्र फेरि पनि विभाजन हुने हो कि भन्ने संशय व्यवसायी वृत्तमा बढेको छ।

व्यवसायीहरूको स्पष्ट बुझाइ भने एउटै बिन्दुमा केन्द्रित देखिन्छ—अघिल्ला चुनावमा देखिएको राजनीतिक किचलो दोहोरिए संघ कमजोर बन्न सक्छ। त्यसैले अहिलेको अवस्थामा भूमि पौडेललाई केन्द्रमा राखेर एकीकृत रूपमा अघि बढ्नु व्यवहारिक र परिणाममुखी विकल्प हुने तर्क बलियो बन्दै गएको छ।

पौडेललाई प्राथमिकतामा नराखिए उनी स्वतन्त्र रूपमा मैदानमा उत्रिने सम्भावना पनि उत्तिकै चर्चामा छ, जसले चुनावी समीकरणलाई थप जटिल बनाउने अनुमान गरिएको छ।

यसरी अघिल्ला अनुभवबाट पाठ सिक्दै यसपटकको निर्वाचनले केवल नेतृत्व चयन मात्र होइन, संघको भविष्यको दिशा र व्यवसायी समुदायको विश्वास पनि तय गर्ने देखिएको छ।

सम्बन्धित खबर