Mechi Update

विद्यालय बस कि जोखिमको पहेंलो संकेत?

बिहिवार, असार ३२, २०८३

विद्यालय भनेको बालबालिकाको भविष्य बनाउने ठाउँ हो। तर त्यही विद्यालय पुग्न र घर फर्कन प्रयोग हुने बस नै असुरक्षाको कारण बन्न थाल्यो भने त्यो केवल यातायातको समस्या रहँदैन, समाजको संवेदनशीलता र स्थानीय सरकारको जवाफदेहितासँग जोडिएको गम्भीर प्रश्न बन्छ। पछिल्लो समय मेचीनगरमा निजी विद्यालयका बस तथा सवारीसाधनबाट भएका दुर्घटनाका घटनाले यही प्रश्नलाई फेरि तीव्र बनाएको छ।

मेचीनगरका सडकमा दैनिकजसो विद्यार्थी बोकेका विद्यालय बस र भ्यानहरू तीव्र गतिमा गुडिरहेको देखिन्छन्। कतिपय सवारी अत्यन्त पुराना छन्, तर पहेंलो रङ्ग लगाइएपछि तिनलाई विद्यालय बसको मान्यता दिइएको जस्तो व्यवहार गरिएको छ। विद्यालय बसको पहेंलो रङ्ग पहिचानका लागि हो, सुरक्षाको प्रमाणपत्र होइन। सवारीको अवस्था, चालकको दक्षता, गति नियन्त्रण, सहचालकको जिम्मेवारी, विद्यार्थी चढाउने–ओराल्ने तरिका र नियमित अनुगमन नै वास्तविक सुरक्षा मापदण्ड हुन्।

गत असार ३० गते धुलाबारीस्थित होलिवेल विद्यालयको बसबाट ओर्लिने क्रममा मेचीनगर–४ डिमारकेसनका सात वर्षीय सम्भव बुर्जा मगर दुर्घटनामा परी मृत्यु भएको घटना अत्यन्त पीडादायी छ। उनी आफ्नै घरअगाडि विद्यालयको बसबाट ओर्लिने क्रममा दुर्घटनामा परेको बताइएको छ। विद्यालय गएको बालक घर फर्किने क्रममा आफ्नै घरअगाडि दुर्घटनामा पर्नु कुनै सामान्य घटना होइन। यसले विद्यालय यातायात प्रणालीमा रहेको लापरबाही, असावधानी र व्यवस्थापनको कमजोरीलाई उदांगो बनाएको छ।

अभिभावकका लागि विद्यालय बस भरोसाको साधन हुनुपर्ने हो। तर जब त्यही बसबाट बालबालिका असुरक्षित महसुस गर्छन्, वा घर फर्किने बाटो नै जोखिमपूर्ण बन्छ, तब विद्यालय प्रशासनले केवल शोक व्यक्त गरेर उम्किन मिल्दैन। विद्यार्थीलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउने जिम्मेवारी विद्यालयकै हो। बसमा रहेका चालक, सहचालक वा कर्मचारीले बालबालिकाको उमेर, अवस्था र सडकको जोखिमलाई बुझेर मात्र विद्यार्थी ओराल्ने व्यवस्था गर्नुपर्छ।

यो एउटा मात्र घटना होइन। करिब एक महिनाअघि होलिबेल स्कुलकै बस संलग्न दुर्घटनामा मेचीनगर–७ सतिघट्टामा दुई जना मोटरसाइकल यात्रीको मृत्यु भएको घटना पनि स्थानीय बासिन्दाले भुलेका छैनन्। छोटो अवधिमा एउटै विद्यालयको सवारीसँग जोडिएका गम्भीर दुर्घटनाका खबर आउनु संयोग मात्र मान्न सकिँदैन। यसले विद्यालय सवारी सञ्चालनको पद्धति, चालकको व्यवहार, सवारीको अवस्था र अनुगमन संयन्त्र सबैमाथि प्रश्न उठाएको छ।

मेचीनगरमा निजी विद्यालयहरू बढेसँगै विद्यार्थी ओसारपसार गर्ने सवारीको संख्या पनि बढेको छ। तर त्यसअनुसार सुरक्षा मापदण्ड, रुट व्यवस्थापन, गति नियन्त्रण र जिम्मेवारी प्रणाली विकास भएको देखिँदैन। साँघुरा सडक, बजार क्षेत्र, विद्यालय समयको चाप, मोटरसाइकल र पैदलयात्रीको भीडबीच ठूला बसहरू अनियन्त्रित गतिमा गुड्दा दुर्घटनाको जोखिम झन् बढ्छ। यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन केवल सडकमा उभिएर सवारी रोकिने काममा सीमित हुनु हुँदैन।

नगरपालिकाको शिक्षा शाखा, ट्राफिक प्रहरी र सम्बन्धित निकायको अनुगमन फितलो देखिएको गुनासो अभिभावकहरूले गर्दै आएका छन्। कुन विद्यालयसँग कति बस छन्, ती बस कति पुराना छन्, फिटनेस प्रमाणपत्र अद्यावधिक छ कि छैन, चालकको लाइसेन्स र अनुभव कस्तो छ, बसमा सहचालक छ कि छैन, विद्यार्थी कहाँ–कसरी ओरालिन्छन् भन्ने विवरण नियमित रूपमा जाँचिनुपर्छ। दुर्घटना भएपछि मात्र अनुगमन गर्ने प्रवृत्तिले बालबालिकाको जीवन जोगाउन सक्दैन।

विद्यालयले शुल्क लिँदा सेवा र सुविधाको दाबी गर्छ भने विद्यार्थीको सुरक्षा पनि त्यसैको अभिन्न हिस्सा हो। विद्यार्थीलाई विद्यालय ल्याउने र घर पुर्‍याउने प्रक्रिया लिखित, स्पष्ट र जिम्मेवार हुनुपर्छ। साना बालबालिकालाई सडक पार गर्नुपर्ने ठाउँमा एक्लै छाड्ने, घरअगाडि बस रोक्दा पनि पर्याप्त सावधानी नअपनाउने वा हतारमा विद्यार्थी ओराल्ने प्रवृत्ति घातक हुन्छ। विद्यालय बसमा बालबालिका छन् भन्ने कुरा चालकका लागि गति घटाउने कारण हुनुपर्छ, हतार गर्ने बहाना होइन।

अब मेचीनगर नगरपालिकाले निजी विद्यालयका सवारीसाधनबारे विशेष अभियान चलाउनुपर्छ। सबै विद्यालय बसको प्राविधिक परीक्षण, गति सीमा, रुट अनुमति, चालक–सहचालकको विवरण, विद्यार्थी ओराल्ने निश्चित स्थान, अभिभावकसँग समन्वय र दुर्घटनापछिको जवाफदेहिता स्पष्ट गर्नुपर्छ। नियम उल्लंघन गर्ने विद्यालयलाई चेतावनी मात्र होइन, जरिवाना, बस सञ्चालनमा रोक र आवश्यक परे कानुनी कारबाहीसम्म हुनुपर्छ।

सम्भव बुर्जा मगरको मृत्यु केवल एउटा परिवारको शोक होइन, मेचीनगरको शिक्षा र यातायात व्यवस्थाप्रतिको कठोर प्रश्न हो। विद्यालय गएका कलिला नानीहरू सुरक्षित रूपमा घर फर्किन पाउनुपर्छ। सडकमा यात्रा गर्ने सर्वसाधारणले पनि विद्यालय बसकै कारण ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। पहेंलो बस भरोसाको प्रतीक बन्नुपर्छ, जोखिमको संकेत होइन। त्यसका लागि विद्यालय, नगरपालिका, ट्राफिक प्रहरी र अभिभावक सबैले अब शब्दमा होइन, व्यवहारमा जिम्मेवारी देखाउन आवश्यक छ।

सम्बन्धित खबर