मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर
मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर आज बाहुण्डाँगी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ। तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन ३० जनाले स्वास्थ्य सेवा लिएका छन्।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त शिविर आयोजना गरिएको हो। शिविरमा मेचीनगर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ का अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा अर्थोपेडिक, न्युरो, पेडियाट्रिक, फिजियोथेरापी तथा नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। जसअनुसार अर्थोपेडिकतर्फ १५ जना, पेडियाट्रिकतर्फ २ जना, फिजियोथेरापीतर्फ ७ जना र नाक, कान, घाँटीतर्फ ६ जनाले सेवा लिएको कार्यक्रमका सहजकर्ता कुशल पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रम सम्पन्न गर्न मेचीनगर नगरपालिका वडा नं. ४ को वडा कार्यालय, पूर्व क्षितिज अपाङ्ग सेवा संघ मेचीनगर, स्वास्थ्य शाखा मेचीनगर, बाहुण्डाँगी स्वास्थ्य चौकी तथा अपाङ्गता सशक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाहरूले सहयोगी भूमिका निर्वाह गरेका थिए।
तीन दिवसीय स्वास्थ्य शिविर अन्तर्गत चैत १० गते वडा नं. ११, १२, १३ र १४ का लागि धाईजन स्वास्थ्य चौकीमा तथा चैत ११ गते वडा नं. ६, ७, ८, ९, १० र १५ का लागि मेचीनगर आधारभूत स्वास्थ्य चौकी धुलाबारीमा शिविर सञ्चालन हुने करुणा फाउन्डेसनका प्रतिनिधि पदम बराइलीले जानकारी दिनुभयो।