झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले ३० हजार रुपैयाँ लिएको आरोप सार्वजनिक भएपछि कार्यालयभित्रको ‘सेटिङ’माथि प्रश्न उठेको हो ।
गत माघ १६ गते राति करिब १० बजे मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किँदा ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको थियो । उक्त घटनापछि मोटरसाइकल चालक काशिनाथ पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मुद्दा दर्ता गरेको थियो ।
स्रोतका अनुसार, मुद्दा सहज गराइदिने र सजायबाट जोगाइदिने आश्वासन दिँदै सई सोम बहादुर लामिछाने मगरले पौडेलसँग ३० हजार रुपैयाँ लिएका थिए । उक्त रकम काशिनाथ पौडेलका भाइ चेतन पौडेलमार्फत ल्याइएको र पछि लामिछानेलाई बुझाइएको बताइएको छ ।
त्यसक्रममा लिएको रकममध्ये केही हिस्सा इप्रका काँकरभिट्टाकै प्रहरी निरीक्षक बिरेन्द्र कोइरालालाई समेत दिइएको स्रोतको दाबी छ । यद्यपि यस विषयमा सम्बन्धित अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
स्थानीय स्रोतहरूका अनुसार, लामिछानेले विभिन्न मुद्दामा यस्तै तरिकाले ‘सेटिङ’ मिलाउँदै रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ । उनी विगत दुई वर्षभन्दा बढी समयदेखि मुद्दा शाखामै कार्यरत रहँदै आएका छन् र सोही अवधिमा असुली धन्दा सञ्चालन गरेको आरोप छ ।
यसअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लागूऔषध सम्बन्धी एक मुद्दामा गम्भीर अनियमितता भएको आरोप लागेको थियो । पारिवारिक स्रोतका अनुसार, बरामद गरिएको करिब २२० ग्राम लागूऔषधलाई घटाएर करिब ४० ग्राम मात्रै देखाई मुद्दा अघि बढाइएको र त्यसक्रममा आर्थिक लेनदेनसमेत भएको दाबी गरिएको छ । सो प्रकरणमा तत्कालीन प्रमुख सहित अन्य प्रहरी अधिकारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गरिएको छ ।
कार्यालयमा नयाँ प्रमुख आइसकेपछि पुरानो ‘सेटिङ’बारे जानकारी नभएको अवस्थालाई प्रयोग गर्दै पुनः यस्तो कार्य दोहोरिएको बताइन्छ । तर, अन्ततः जिल्ला अदालत झापाले काशिनाथ पौडेललाई ९ महिना कैद सजाय सुनाएपछि रकम लेनदेनको विषय बाहिर आएको हो ।
लामिछाने मोरङमा कार्यरत रहँदा पनि आर्थिक अपचलनमा मुछिएर पटक–पटक कारबाहीमा परेका व्यक्ति हुन्। उनलाई मोरङबाट कारबाही गरी उदयपुर सरुवा गरिएको थियो। तर, प्रभाव प्रयोग गरी पुनः काँकरभिट्टा मुद्दा फाँटमै आएका हुन्।
यस्तै, झापाका विभिन्न प्रहरी कार्यालयका मुद्दा फाँटमा वर्षौंदेखि अड्डा जमाएर बसेका केही प्रहरी कर्मचारीका कारण सर्वसाधारणले दुःख भोग्दै आएको गुनासो आउने गरेको छ। विभिन्न प्रकृतिका मुद्दा कमजोर बनाई आर्थिक चलखेल हुने गरेको आरोपसमेत लाग्ने गरेको छ। यस्ता गतिविधिका कारण प्रहरीप्रति सर्वसाधारणको विश्वास कमजोर बन्दै गएको देखिन्छ।
यो घटनाले प्रहरी संगठनभित्रको पारदर्शिता, जवाफदेहिता र आन्तरिक निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।


