झापा–भारत सीमा क्षेत्रमा जंगली हात्तीको आवतजावतले फेरि मानवीय क्षति निम्त्याएको छ। आज बिहान निन्दा कृष्णथुम्की आसपासबाट तिरिङ खोला हुँदै तिरिङ गाउँ क्षेत्रमा देखिएको हात्तीले सीमा पार गर्दै भारत पुगेपछि आक्रमण गर्दा अन्दाजी ४० वर्षीय भारतीय नागरिक रन्जित राईको मृत्यु भएको हो।
स्थानीयका अनुसार आज बिहान करिब ९ बजेसम्म नेपाली भूभागमा देखिएको सोही हात्ती साँझतिर भारततर्फ पुगेको थियो। पाटापुरका स्थानीय पुष्कर गुरागाईंको सूचनापछि बन्यजन्तु संरक्षणकर्मी शंकर क्षेत्री लुईटेलमार्फत प्राप्त विवरणअनुसार बेलुकी ५ बजेतिर भैंसी घर फर्काउने क्रममा राई आक्रमणमा परेका थिए।
सीमावर्ती क्षेत्रमा हात्तीको आवतजावत बढ्दै जाँदा दुवै देशका स्थानीय जोखिममा परिरहेका छन्। वन क्षेत्र सिमित हुँदै जाँदा र बस्ती विस्तार बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्व थप जटिल बन्दै गएको देखिन्छ।
यस्ता घटनाले नेपाल–भारतबीच समन्वयात्मक व्यवस्थापन, पूर्वसूचना प्रणाली र स्थानीय सुरक्षाका उपाय तत्काल आवश्यक रहेको देखाउँछ।


