Mechi Update

मेचीनगरमा पाँचौँ अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न

मङ्गलवार, पौष १, २०८२

चीनगर, झापा | २०८२ पुस १ गते (मंगलबार)

 

नेशनल प्याब्सन (National PABSAN) मेचीनगरद्वारा आयोजित पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सभ्य, सुसंस्कृत तथा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता अंशु एकाडेमी, मेचीनगर–४, बाहुण्डाँगीको प्राङ्गणमा सम्पन्न भएको हो।

 

विद्यार्थीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका १२ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिता नेपाली र अंग्रेजी माध्यमअन्तर्गत सिनियर र जुनियर गरी चार विधामा सञ्चालन गरिएको थियो।

 

उद्घाटन सत्र

 

कार्यक्रमका सभापति नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ रहनुभएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव जीवन कट्टेलले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा शान्तिपथ अंग्रेजी विद्यालयका प्रिन्सिपल अमृत प्रधानले स्वागत मन्तव्य राख्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास र अभिव्यक्ति क्षमतामा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

 

कार्यक्रममा अंशु एकाडेमीका वि.व्य.स. अध्यक्ष ऐश्वर्य सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। साथै उहाँले विद्यार्थीहरूलाई जंक फुडको प्रयोग कम गरी स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो।

 

प्रतियोगिताका नतिजा यसप्रकार रहेका छन् :

 

नेपाली सिनियर

 

प्रथम : प्राश्ना शिवाकोटी – आदर्श विद्या मन्दिर

 

द्वितीय : भुमिका पौड्याल – सनसाइन अंग्रेजी मा.वि.

 

तृतीय : अंशु ढकाल – पशुपति इंग्लिस बोर्डिङ स्कुल

 

नेपाली जुनियर

 

प्रथम : ईशान बराल – सनसाइन अंग्रेजी मा.वि.

 

द्वितीय : आदित्य शिवाकोटी – माँ सरस्वती एजुकेसन फाउन्डेसन

 

तृतीय : सनम पौड्याल – सूर्योदय अंग्रेजी मा.वि.

 

अंग्रेजी सिनियर

 

प्रथम : दक्षिणा बस्नेत – पशुपति इंग्लिस बोर्डिङ स्कुल

 

द्वितीय : अंकिता पोख्रेल – अंशु एकाडेमी

 

तृतीय : अभिसा भट्टराई – सनसाइन अंग्रेजी मा.वि.

 

अंग्रेजी जुनियर

 

प्रथम : ज्ञानु बराल – दन्तकाली अंग्रेजी मा.वि.

 

द्वितीय : सुवर्णा श्रेष्ठ – सनसाइन अंग्रेजी मा.वि.

 

तृतीय : अन्जली अधिकारी – माँ सरस्वती एजुकेसन फाउन्डेसन

 

समापन सत्र

 

समापन सत्रमा खेलकुद संयोजक गणेश काफ्लेले सहभागी सबै विद्यार्थीहरूले असाध्यै उत्कृष्ट प्रस्तुति दिएको उल्लेख गर्दै सबैलाई शुभकामना व्यक्त गर्नुभयो। प्रयोगिताका निर्णायकका रूपमा त्रिदेव बहुमुखी क्याम्पस, चारालीका प्राध्यापकद्वय हरि प्रसाद न्यौपाने र इन्द्र प्रसाद उपाध्याय रहनुभएको थियो। निर्णय घोषणा गर्नुअघि निर्णायक हरि प्रसाद न्यौपानेले छोटो मन्तव्य राख्दै विद्यार्थीहरूको स्तर प्रशंसनीय रहेको बताउनुभयो।

 

समापन मन्तव्यको क्रममा कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले कार्यक्रम सफल बनाउन दिनभरि खटिनुहुने सचिव जीवन कट्टेल, कोषाध्यक्ष दिपेन्द्र सर, खेलकुद संयोजक गणेश सर, निर्णायक मण्डल, पत्रकार अनिस काफ्ले, वि.व्य.स. अध्यक्ष ऐश्वर्य सुवेदी, सञ्चालक सदस्य घनश्याम सर तथा अंशु एकाडेमीका सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

 

अन्त्यमा उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी तथा सहयोगीहरूप्रति आभार प्रकट गर्दै विजेता सहित सहभागी सबै विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

सम्बन्धित खबर