मेचीनगर, २५ असोज । युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरुको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।
सोसाइटीले शनिबार विहान आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह प्रथम र महिलातर्फ दमककै पुष्पा लिम्बु प्रथम भइन् ।
उनीहरुले जनही नगद ५ हजार पाएका छन् । यसैगरी पुरुषतर्फ बिर्तामोडका १६ वर्षीय शिव कार्की द्वितीय र दमकका १८ वर्षीय मिङसेन लिम्बु तृतीय भए ।
यसैगरी, महिलातर्फ दमककी मन्दिरा महतरा र रुबिना महतरा क्रमशः द्वितीय र तृतीय भएका थिए । दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजारका दरले पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा १४६ जना पुरुष र १८ जना महिला गरी १६४ जना युवा धावकले भाग लिएका थिए । मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी छेउबाट सुरु दौड पाँच किलोमिटर टाढा धुलाबारी मोडसम्म भएको थियो ।
आयोजक युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनमा झापाबाट शहीद भएका दिनेश राजबंशी र गोपाल सेढाइको परिवारलाई जनही ५० हजारका दरले सहयोग दिने घोषणा समेत गरेको थियो ।
आजै कार्यक्रममा शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशीलाई ५० हजार सहयोग प्रदान गरिएको सोसाइटीका सदस्य जयराम दाहालले जानकारी दिए ।
इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा शहीद भएका झापाका शहीदका छोरा–छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको खर्च व्यहोर्ने बताए ।
झापा विद्रोहका शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशीले ज्यामिरगढीमा रिवन काटेर उद्घाटन गरेका थिए । जेनजी आन्दोलनका शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशी लगायत परिवारका अन्य सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शहीद परिवारले दौडका विजेतालाई पुरस्कार वितरण समेत गरेका थिए ।