Mechi Update

महामन्त्री शर्माकाे अगाडि कार्यकर्ताहरूले भने-´अब पार्टी दाेस्राे पुस्तामा हस्तान्तरण हुनुपर्छ`

मङ्गलवार, असोज ७, २०८२

मेचीनगर, ७ असाेज । धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् । मंगलबार धुलाबारी स्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र अवकाे नेपाल` विषयमा गरिएको अन्तरक्रियामा कार्यकर्ताहरूले पार्टीमा बुढाहरूकाे पालाे सकियाे अब युवा पुस्ताहरूले चलाउनु पर्ने माग व्यापक रूपमा उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ अन्तरगतका बुद्वशान्ति, भद्रपुर र मेचीनगरका कार्यकर्ताहरू पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि सभापति र प्रधानमन्त्री नै बनाइरहने हाे भने पार्टी सकिने दावी गरे । उनीहरूले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र जेनजी युवाहरूले पार्टी र देश हाक्नु पर्ने आवाज चर्काे रूपमा उठेकाे थियाे । आयोजकले नै कार्यकर्ताहरूलाई आधा घण्टामा दुई/दुई मिनेटकाे समय दिएर आ-आफ्नो धारणा राख्न दिइएकाे थियाे । बाेल्ने कार्यकर्ताहरूमा मनाेज घिमिरे, नारायण वस्नेत, देवेन्द्र गाैतम लगायत दर्जन बढघले धारणा राखेका थिए । कार्यकर्ताहरूकाे प्रश्न तथा धारणाहरूलाई सुझावका रूपमा लिदै महामन्त्री शर्माले जेनजी युवाहरूकाे माग सम्बाेधन हुने बताएका थिए । जेनजी आन्दोलनपछि संसद विघटन भएपछि पूर्व सांसद समेत भइसकेका उनले आन्दोलनमा सरकारले जेनजी युवाहरूकाे हत्या गर्नु गलत भएको बताए । सिंगदरवार, संसद भवन, सर्वाेच्च अदालत, हाम्राे घरहरू, पार्टी कार्यालय जल्नु भन्दा पनि युवाहरूकाे हत्या हुनु दु:खद भएको उनकाे दावी छ । ´भ्रष्टाचारकाे कुरामा मैले त पहिलै संसदमा फायल खाेल्नु मात्र हाेइन फायर गर्नु पर्छ भनेर कुरा उठाएकै हाे`, शर्माले भने-´याे सबैकाे छानविन हुनु पर्छ ।` कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव एवम् मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई(राजन) ले गरेका थिए ।
सम्बन्धित खबर