Mechi Update

एमाले र कांग्रेसले भन्यो–‘जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गर’

शुक्रवार, असोज ३, २०८२

काँकरभिट्टा, ३ असोज । नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ । आज काँकरभिट्टा बजारमा संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित नेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको हो । मौन जुलुसपछि लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित संयुक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य रविन कोइरालाले जेनजी पुस्ताले गरेको सामाजिक सञ्जाल, भ्रष्टाचार र सुशासनको आन्दोलन जायज रहेको बताए । जेनजीको आन्दोलनमा अराजकतत्वहरुको घुसपैठबाट भएका सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटको सरकारले तत्काल छानविन गर्नु पर्ने उनले माग गरे । यदि यो सरकारले अराजक समूहलाई जोगाउन लाग्छ भने त्यसको विरुद्ध हामी सबै एकजुट भएर लाग्नु पर्ने कोइरालाको भनाई छ । ‘पार्टी पुर्नगठनको माग पनि आइरहेको छ’, कोइरालाले भने–‘यस्तो बेलामा पार्टी र हामीले केहि कुराहरुलाई सच्याएरअघि बढ्नु पर्छ । धेरै शहीदहरुको बलिदानबाट आएको संविधानको रक्षा गर्नुपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सामज सेवा गर्नु गलत हो, हो भने वैद्धताको हिसावले लोकतन्त्रमा त्यसको हिसाव किताव हुने बताएका छन् । उनले भने–‘जेनजीको नाममा घुसपैठ भएको छ । सिङ्गदरवार, संसद भवन, सर्वोच्च अदालत, सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु ठिक भएन । यसको यथासक्य छिटो छानविन हुनु पर्छ । कानुनी राज्य मान्छौँ । संविधानलाई कसैले खेलबाड पनि गर्न हुँदैन ।’ दलहरुले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । एमाले र कांग्रेस मेचीनगरले आयोजना गरेको कार्यक्रमको सहजीकरण एमाले क्षेत्रीय सचिव राजु पोखरेलले गरेका थिए ।
सम्बन्धित खबर