सांसद बजगाईले भनिन्–घर तोडफोडसहित नगद र गरगहना लुट्यो’
मेचीनगर, २९ भदौ । कोशी प्रदेशकी सांसद सविना बजगाईले जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेरो घर तोडफोड, आगजनीसहित गरगहना र नगद पैसा समेत लुटेर लगेको बताएकी छन् ।
राप्रपाकी नेतृ समेत रहेकी सांसद बजगाईले यही भदौ २४ गते जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेचीनग–१३ स्थित घरमा तोडफोड, आगजनी गरेर दराजभित्रको सेफ फुटाएर गरगहना, नगद लगेको जानकारी दिइन् ।
उनले मेरो, छोरा–वुहारीको सुनका गरगहना, नगद २ लाखसहित १५ लाखजति अपराधिक समूहले लुटेर लगेको बताइन् । नगद, गरगहना र घरसहित करिव ३०÷४० लाख रुपैयाँको क्षति भएको उनको भनाई छ ।
‘जेनजीका प्रदर्शनकारी दिउँसो घरमा आएर तोडफोड गर्ने प्रयास गरे’, बजगाईले भनिन्–‘गाउँलेहरुले सम्झाएर पठाए । म त्यतिखेर घरैमा थिए । स्गानीयले मलाई भगाए । तर, राति ७ वजे अराजक समूह आएर घरभित्र पसेर तोडफोड गरेर लुटपाट गरे ।’
बजगाई झापा क्षेत्र नं.१ (ख) बाट राप्रपाकी निर्वाचित सांसद हुन् । आइतबार उनको घरको स्थलगत निरीक्षण गर्न मानव अधिकारवादी, राप्रपा कोशी प्रदेश अध्यक्ष एवम् दमक नगरपालिकाका मेयर राम थापा, झापा अध्यक्ष केशवराज ओझा, मेचीनगर अध्यक्ष चन्द्र तिम्सिना, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
राप्रपा कोशी प्रदेश अध्यक्ष थापाले मेरोमा, बजगाई र देशैभरी जेनजीको आन्दोलनका नाममा गरिएको लुटेरा समूहले गरेको तोडफोड, लुटपाट र आगजनीको पार्टीले उचित छानविन गर्ने बताए ।
source : Mechinagar online