एमालेको विधान महाधिवेशन आजदेखि, बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन्।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि रआयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए।महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौं आइपुगिसकेको गौतमले बताए।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागत द्वार निर्माण गरिएको छ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मुल नारा तय गरेको छ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ।
प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्। त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरूले प्रवेश पाउने छन्। प्रतिनिधिहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्नासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ। हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ। पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुने छन्। महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्बिर छन्। यसैगरी कार्लमार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्बिरहरू राखिएका छन्।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ। अध्यक्ष ओलीको प्रतिवेदनपछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिनेछ। साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए।
मञ्च व्यवस्थापन समिती संयोजक एवं पार्टी पोलिटब्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जातजाती र समुदायका झाँकीहरू प्रस्तुत गरिनेछ। उक्त दृश्य हलभित्रका प्रतिनिधिहरूले डिजिटल बोर्ड मार्फत हेर्ने छन्।
भोलि प्रतिवेदनहरू माथि नौ वटा समूहमा छलफल हुने र पर्सी समूहले पेस गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गर्ने एमालेले जनाएको छ।
एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो।