Mechi Update

मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकीले राखे सातवटा माग

बिहिवार, भदौ १२, २०८२

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ । आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका ७ वटा विकास निर्माणका विषयमा मागहरु राखेका हुन् । मागहरुमा पूर्वी सीमाना काँकरभिट्टा स्थित बसपार्क–सतिघट्टा सडकमा अण्डरपास तथा ओभरपास निर्माण, काँकरभिट्टाबाट प्यारीभिट्टा बसपार्कसम्म ६ लेनको सडक निर्माण, ईटाभट्टा चौकदेखि पश्चिम नगरपालिकाको कार्यालय र पूर्वतर्फ ३०० मिटरसम्म ६ लेन सडक निर्माण, ड्रेन निर्माणतर्फ (नगरपालिकाको कार्यालय उत्तर एनएमसी डेरीदेखि पूर्व पालिया खोलासम्म, धुलाबारी मोड पूर्व निन्दा खोलासम्म र पश्चिम टिमाई खोलासम्म र टिकापुर पश्चिम नगरडुब्बा खोलासम्म) रहेका छन् । यस्तै, कालीखोला पूर्व १,२, ३ कल्भर्ट मध्ये २ वटा कल्भर्ट निर्माण नगरिदिन, काँकरभिट्टा इलाका प्रहरी कार्यालय पश्चिम मेची भन्सार कार्यालय उत्तर रोड छेउमा घण्टाघर निर्माणका लागि अनुमति पाउन र काँकरभिट्टा स्थित निर्माण सम्पन्न भई सकेको राजमार्गको कुनै उपयुक्त स्थानमा गोपाल योञ्जनको शालिक स्थापनाको अनुमति पाउन माग गरिएको छ । मन्त्री दाहालले केहि मागहरु सम्बोधन गरिने र योजना परेका विषयहरुलाई प्राथमिकतामा राखेर मन्त्रालयले कामअघि बढाउने बताएका छन् । मन्त्रीहरुसँगै आएका सडक विभागका निर्देशक, विभागिय प्रमुखहरु र सचिवसँग छलफल गरिने उनको भनाई थियो । छोटो भेटघाटमा नगरप्रमुख बुढाथोकी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले धारणा राखेका थिए । भेटघाटमा कोशी प्रदेशका सांसद होम थापा, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्याल, नगरप्रवक्ता एवम् वडाध्यक्ष दिपक बराल, वडाध्यक्षहरु प्रलादमणि ओली, ललितबहादुर तामाङ, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर