झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ ।
पौराणिक ग्रन्थअनुसार प्राचीन समयमा एक ब्राह्मण पत्नीद्वारा ऋतु धर्म सम्पन्न भएपछि आवश्यक शुद्धि नगरी पतिको स्पर्श गर्दा पाप लागेको र त्यस पापका कारण अर्को जन्ममा चर्म रोगले दुःख भोग्नु परेको कथा छ । पछि सप्तऋषिको निर्देशनअनुसार ऋषि पञ्चमीको व्रत गर्दा उनी शुद्ध भई मुक्ति प्राप्त गरेकी मानिन्छिन् । यही कारण यो पर्वलाई महिलाले शुद्धता प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा लिने गरिन्छ । ऋषि पञ्चमीलाई नारी शुद्धि पर्व पनि भनिन्छ । यस दिन महिलाहरू बिहानै स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गर्छन्, उपवास बस्छन् र कन्दमूल, दाल, फलफूल आदिको सेवन गर्छन् । विश्वास गरिन्छ यस व्रतबाट नारीहरूले अनजानेमा भएका त्रुटिहरू क्षमा पाउँछन् र परिवारमा सुख–समृद्धि बढ्छ ।
नेपालभर विभिन्न तरिकाले यो पर्व मनाइन्छ । काठमाडौँ उपत्यकामा पशुपतिनाथ, गोकर्णेश्वर र वाग्मती किनारलगायतका धार्मिक स्थलमा महिलाहरूको भीड लाग्छ भने तराई मधेस क्षेत्रमा घरमै पूजा गरेर व्रत बस्ने परम्परा छ । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी आदिमा महिलाहरू सामूहिक रूपमा नदी वा तलाउमा स्नान गरी पूजा गर्ने चलन अझै छ भने पश्चिम नेपालका रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा महिलाहरू एकत्रित भई कथा सुन्ने, व्रत बस्ने र दीप प्रज्वलन गर्ने परम्परा रहिआएको छ । आज बिहानैदेखि नै देशभरका नदी, तलाउ र कुण्डमा स्नान गर्ने, पूजा गर्ने र सामूहिक कथावाचनमा सहभागी हुने महिलाहरूको चहलपहल देखिएको छ ।