Mechi Update

उद्यमीहरुको झोला विद्यालयमा बेच्ने प्रबन्ध मिलाउछौँ ः नगरप्रमुख बुढाथोकी

बिहिवार, भदौ ५, २०८२

मेचीनगर, ५ भदौ । मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् । विहीबार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यमी समूहमा सहभागी भएर तालिम लिएका ४३ जना महिलाहरु सिलाई कटाई मेसिन प्रदान गरिएको थियो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले उक्त प्रविधिहरु सहभागीहरुलाई हस्तान्तरण गरेका थिए । नगरपालिकाको २०८१÷८२ को तपाईहरुलाई छाडदैनौँ, आफ्नो खुट्टामा उभ्याउने काम गछौँ भन्ने कार्यक्रमको बजेटबाट ८० प्रशित र सहभागीको २० प्रतिशत लागत सहभागितामा उक्त प्रविधिहरु हस्तान्तरण गरिएको हो । गरिवी निवारणका लागि लगु उद्यमी विकास कार्यक्रम र लघु उद्यमीहरुका लागि सीप तथा क्षमता अभिवृद्वि अन्तरगत वडा नं.७ का सहभागीलाई उक्त तालिम दिएको थियो । व्यवसाय गर्न सक्ने भए ः भविता रिजाल एडभान्स तालिममा सहभागी भविता रिजालले लघु उद्यमी समूहले दिएको झोला, व्याग लगायतका सामग्री बनाउने तालिमले थोरै भएपनि जीविको पार्जन गर्ने माध्यम बनेको बताइन् । उनका अनुसार झोला, व्याग बनाउने सीप सिकेर छोरा–छोरीलाई स्कुलको टिफिन समयमा खाजा खुवाउन सक्ने बनाएको छु । अझै मेहेनत गर्नसके परिवार पाल्न सकिने रहेछ । आफै मालिक बने ः सरस्वती बानियाँ नगरपालिका बाटै तालिम लिएर प्रशिक्षक समेत बनिसकेकी मेचीनगर–३ स्थित दोकानडाँडाकी सरस्वती बानियाँले लघु उद्यमी समूहबाट एडभान्स तालिम लिएर सहभागीलाई तालिम दिन थालेकी छन् । उनले आफ्नै सिलाई कटाईको टेलरिङ पसल समेत सञ्चालन गर्न थालेको बताइन् । उनले भनिन्–‘अर्काको काम गर्नु भन्दा आफै मालिक हुने उदेश्यले सुरुमा तालिम लिए । तालिम लिएपछि आफै गरिखाने भएको छु । यसको सबै देन नगरपालिकाको रहेको छ ।’ नगरप्रमुख बुढाथोकीले तालिम लिएर व्यवसायिक बनेका महिला उद्यमीहरुले बनाएका झोला र व्यागहरु नगरका सामुदायिक विद्यालयमा बिक्रीका लागि छलफल गरिने बताएका छन् । उद्यमी महिलाहरुले उत्पादन गरेका उक्त सामग्रीको बजारीकरणका लागि उचित मूल्यमा बिक्री वितरणका लागि नगरपालिकाले पहल गर्ने उनले बताए । नगर प्रविधि मैत्री बन्दै ः उपप्रमुख उप्रेती उपप्रमुख उप्रेतीले उद्यमीहरुलाई प्रविधि मैत्रीसँगै व्यवसायिक बनाउने उदेश्य रहेको बताइन् । उनका अनुसार सीप सिकेर उद्यमीहरु चुप लागेर बस्नु हुँदैन, काममा लाग्नु पर्छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, लघु उद्यमी समूहकी अध्यक्ष चन्द्रकला रिजाल लगायतले प्रविधिको उच्चतम प्रयोग गरेर आत्मनिर्भर बन्ने बाटोतर्फ जान आग्रह गरेका थिए । ६ जना प्रशिक्षकद्वारा बाहिर पनि तालिम दिँदै लघु उद्यमी समूहबाट तालिम लिएर प्रशिक्षक बनेका महिला उद्यमीहरुले झापा लगायत विभिन्न जिल्लामा तालिम दिइरहेका छन् । नगरका प्रशिक्षक निलु राई श्रेष्ठले दमक नगरपालिकाका महिलाहरुलाई झोला बनाउने तालिम दिएकी छन् । प्रशिक्षक सीमा श्रेष्ठले रोङ गाँउपालिकाका महिलाहरुलाई झोला, सिलाई र हस्तकलाको तालिम दिइन् । प्रशिक्षक रेखा श्रेष्ठले रोङ गाँउपालिकाका महिलाहरुलाई झोला र हस्तकलाको तालिम दिएकी थिइन् । यस्तै, लघु उद्यमी समूहकी अध्यक्ष रिजालले बिर्तामोड नगरपालिकामा अचार र च्याउँ सम्बन्धी प्रशिक्षण दिएकी छन् । प्रशिक्षक मालती कटुवालले पाँचथरमा झोला सम्बन्धी तालिम दिइन् । यसैगरी प्रशिक्षक निर्मला खनालले कचनकवल गाँउपालिकामा सहभागीलाई झोला सम्बन्धी तालिम दिएको नगरपालिकाले जनाएको छ । १०८ जनालाई विभन्न तालिम गरिवी निवारणका लागि लघु उद्यमी समूह मार्फत २०७८÷७९ देखि २०८२ साल सम्ममा २ जना पुरुष र १०६ जना महिला गरेर १०८ जना नयाँ उद्यमीले तालिम लिएका थिए । सीप विकास तालिम अन्तरगत सिलाई कटाइमा १८ जना, व्युटी पार्लरमा ४ जना, सैलुनमा २ पुरुष र २ जना महिला, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र मार्फत विद्युत जडानमा १५ जना सहभागी भएको कार्यालयले जनाएको छ । त्यस्तै वित्तिय साक्षरता र बजारीकरण कार्यक्रममा ६१ जना सहभागी भएका थिए भने उद्यम अवलोकन भ्रमणमा २८ जना सहभागी भएको बताइएको छ । मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लघु उद्यम सहजकर्ता अश्विनी भट्टराईले र सञ्चालन आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए । Source: Mechinagar online
सम्बन्धित खबर