मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ ।
संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको थियो ।
‘सीपसँग तीज’ कार्यक्रममा सहभागी महिलाहरुले बुक्के बनाउने तालिम सिकेका थिए । अहिले हरेक विवाह, मेहन्दी, सेमिनार, गोष्ठी, विशिष्ठ व्यक्तिहरुको भेटघाट लगायतका कार्यक्रममा फुलको आकर्षक बुक्के उपहारका रुपमा दिने चलन रहेको छ । यसको मूल्य पनि महंगै पर्छ ।
बुक्के तालिमसँगै महिलाहरुले तीज मनाएका थिए । तालिममा सहभागीहरुलाई निलु थापा र रेजु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
‘सीपसँग तीज’ कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले महिलाहरुको महान पर्व हरितालिका तीजलाई भडकिलो नबनाएर सामाजिक संस्कारको रुपमा लिनु पर्ने बताइन् । उनका अनुसार तीजलाई माइती र चेलीको उत्सवको रुपमा मनाउनु पर्छ ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पालता उप्रेती, नेपाली सेनाको चारआलीको २१ नं.गुल्मकी उपसेनानी डा.आस्मा ढंगोल, रोटरी क्लब अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठक लगायतले तीजले महिलाहरुलाई समाजमा एकता भएर अघि बढ्ने परम्पराको रुपमा लिन जोड दिएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले अध्यक्षतासहित मेचीनगरमा महिलाहरुले बनाएका बुक्के लगायतका उत्पादन गरेका सामग्रीहरु बेच्न र पर्यटकहरुलाई देखाउन कोशेली घर आवश्यक रहेको बताएका थिए ।
‘सीपसँग तीज’ कार्यक्रमको स्वागत मेची उद्योग बाणिज्य संघकी उपाध्यक्ष चौहानले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
Source: mechiupdate