Mechi Update

सरसफाइ प्रवर्द्धन अभियानमा बाहुण्डाँगी जेसीज, ३ स्थानमा डस्टबिन स्थापना

शुक्रवार, साउन ३१, २०८२

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले स्थानीय बजार, विद्यालय र धार्मिक स्थलमा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ। जेसीज सप्ताह–२०२५ अन्तर्गत बौद्धमोड चोक, मेची जनसाधारण माध्यमिक विद्यालय र धार्मिक तथा पर्यटकीय क्षेत्र कृष्ण थुम्कि गरी जम्मा १० वटा डस्टबिन वितरण गरिएको हो। डस्टबिन हस्तान्तरण कार्यक्रम बौद्धमोडस्थित काफ्ले मिनी मार्केटमा सम्पन्न भएको थियो। कार्यक्रम बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यनन्द चौलागाईंको अध्यक्षता र उपाध्यक्ष एलिस पौडेलको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बाहुण्डाँगी जेसीज वर्ष २०२१ का अध्यक्ष तथा मेचीनगर नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक बराल रहेका थिए। शुभकामना मन्तव्यका क्रममा बरालले जेसीज १८ देखि ४० वर्षसम्मका युवालाई नेतृत्व विकासको शिक्षा दिने र त्यसपछि समाजमा नेतृत्व हस्तान्तरण गर्ने संस्था भएको स्पष्ट पार्नुभयो। कार्यक्रममा बौद्धमोड बजार विकास संस्थाका अध्यक्ष छविलाल काफ्ले, बौद्धमोड कृषि तथा सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाई, चम्लागाई प्रतिष्ठान मेचीनगरका अध्यक्ष हरिचरण चम्लागाई, व्यवसायी सोम चम्लागाई, जमघट चियाका प्रतिनिधि माधव खतिवडा, बौद्धमोड टोल विकास संस्थाका उपाध्यक्ष घना अधिकारीलगायतको उपस्थिति रहेको थियो। अध्यक्ष नित्यनन्द चौलागाईंले डस्टबिन सौजन्य गर्ने दाता हरिचरण चौलागाईं र सोम चौलागाईंलाई धन्यवाद दिँदै यस अभियानबाट सार्वजनिक क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुने र स्वच्छ वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन महासचिव सुष्मा मिश्रले गर्नुभएको थियो भने अतिथिलाई स्वागत संयोजक एलिस पौडेल र मिसन भिजन २०२५ का कार्यकारिणी उपाध्यक्ष रोशन गिरीले गर्नुभएको थियो। जेसीज सप्ताहको पाँचौँ दिन पिउने पानी वितरण गर्ने र भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा विशेष समारोहका बीच समापन गर्ने योजना रहेको महासचिव मिश्रले जानकारी दिनुभयो।
सम्बन्धित खबर