बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ ।
मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए । उनीहरुले क्रमशः १० हजार र ५ हजार नगद प्राप्न गर्नेछन् । पुरस्कार समापन कार्यक्रममा वितरण गरिनेछ ।
अर्जुनले ५१ औँ मिनेटमा, रिदमले ५२औ तथा विप्लबले ५३ औँ मिनेट दौड पुरा गरेका थिए । ८५ जना सहभागी दौड प्रतियोगिताको चौथो स्थानमा युवराज मगर, पाँचौँमा निश्चल कार्की, छैठौँमा रोशन लकान्द्री, सातौमा निर्मल घिमिरे, आठौँमा उप्सन राई, नवौमा अनुराज मगर र दसौँ स्थान अमन तामाङले हासिल गरेका थिए । उत्कृष्ट १० लाई प्रमाणपत्रसहित सम्मान गरिनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार विद्या विकास एकेडेमी, दोश्रो पुरस्कार आर्याना कृषि फर्म तथा तेश्रो पुरस्कार अधिकारी भेट्स फर्माले उपलब्ध गराएका थिए भने खेलाडीलाई टिसर्ट जमघट चियाले उपलब्ध गराएको थियो । दौड बाहुण्डाँगी, मेचेडाँगी, बौद्धमोड, भृकुटी हुँदै बाहुण्डाँगीमा समापन भएको थियो ।
बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा बाहुण्डाँगी जेसीजका मानार्थ सदस्य विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । जेसीज सप्ताहको मुल संयोजकमा कौशल उप्रेती रहेका छन् भने दौड प्रतियोगिताको संयोजकमा न्यूटन कार्की रहेका थिए । कार्यकारिणी उपाध्यक्ष रोशन गिरीले आस्था वाचन तथा किरण गौतमले मिसन भिजन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महासचिव शुष्मा मिश्रले गरेकी थिइन् ।
जेसीज सप्ताहको दोश्रो दिन प्रथम निःशुल्क कम्प्युटर तालिम उद्घाटन तथा प्लस टु उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम रहेको छ । त्यसैगरी, तेस्रो दिन ट्राफिक सचेतना/ जेब्रा क्रसिङ निर्माण, चौथो दिन डस्टविन वितरण, पाँचौ दिन पिउने पानी वितरण जस्ता कार्यक्रम सम्पन्न गर्ने लक्ष्य बाहुण्डाँगी जेसीजले राखेको छ । भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा जेसीज सप्ताह समापन हुनेछ ।