अपाङ्गता भएका व्यक्तिलाई जिवीकोपार्जनमा जोड्दैँ मेचीनगर
मेचीनगर, २६ साउन । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन गरिएको छ ।
मिलीजुली समूहमा अपाङ्गता भएका व्यक्ति नै अध्यक्ष लगायतको २५ जनाको समूह सञ्चालनमा रहेको छ ।
नगरपालिकाले सबै वडाको उक्त समूहलाई ५० हजारका दरले सात लाख ५० हजार बजेट छुट्टाएको छ । उक्त रकम, समूहको सदस्य र उनीहरुका परिवारले थोरै थोरै पैसा जम्मा गरेर सहकारी प्रक्रिया अन्तरगत जिवीकोपार्जन गर्न सक्ने योजना नगरपालिकाको छ ।
मिलीजुली समूहलाई नै कानून अनुसार दर्ता गरेर सहकारी नियमबाट चलाउन सकिने छ ।
यसलाई विउँ पुँजीका रुपमा सहयोग शर्षिकमा मिलीजुली समूह सञ्चालन र दीगो व्यवस्थापनका लागि मार्ग दर्शन २०८१ परिच्छेद–५ मा कार्यक्रम कार्यान्वयन विधी बनाइएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई मिलीजुली समूहको बैंक खाता, वडापिछे नविकरण, छुट्टै हिसाव राख्न, मासिक वैठक, बचत संकलन, ऋण परिचालन लगायतका अनेकौँ समस्या भएपनि सुरक्षित र दीगोपनका लागि यसले ठुलो मद्दत पुग्ने छ । विगत ५ वर्षमा कोशी प्रदेशका अन्य जिल्लामा यसको अभ्यास गरिसकिएको छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम हो ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गताको क्षेत्रमा सक्ने गरिरहेकोले यसको प्रतिफल पनि आशलाग्दो गरी आइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतलले द्रुतगतिमा काम गरिरहेको बताएका छन् ।
सोही अवसरमा अपाङ्गता भएका व्यक्ति, मिलीजुली समूह र उनीहरुको परिवारलाई सहकारी मार्फत जीवीकोपार्जनका लागि आय–आर्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा करुणा फाउण्डेशन नेपाल अन्तरगतको जिवीकोपार्जन फाँटका वरिष्ठ अधिकृत माधव चौरेल र नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले प्रशिक्षण दिएका थिए ।
यस आर्थिक वर्ष २०८२÷०८३ का लागि सोमबार सहकारी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।