Mechi Update

मेचीनगर–४ वडा कार्यालयले धमाधम वडाबासीको घर बीमा गर्दै

बिहिवार, साउन २३, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक तथा वन्यजन्तुजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न घर बीमा योजना लागू गरिएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार, बीमा योजना अन्तर्गत प्रत्येक घरधुरीलाई अधिकतम ५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति प्रदान गरिनेछ। उनले भने, “हाम्रो वडामा विपद्का जोखिम दिनप्रतिदिन बढिरहेका छन्। त्यसलाई दृष्टिगत गर्दै जनताको सुरक्षाको लागि हामीले बीमा कार्यक्रम लागू गरेका हौं।” वडाध्यक्ष कार्कीका अनुसार, बीमा योजना लागू गर्नुको मुख्य उद्देश्य विपद्‌को समयमा तत्काल राहत प्रदान गर्नु हो। बीमा योजना ‘उज्यालो नेपाल बर्दिया’ र वडा कार्यालयको संयुक्त संयोजनमा लागू गरिएको हो। वडामा १ हजार ३ सय घरधुरी रहेका छन् । अहिले धमाधम घरधुरीको विवरण संकलन गरी बीमा प्रक्रिया अघि बढाइसकेको छ। हालसम्म करिब ६ सय घरधुरीको बिमा गरिसकेको मेचीनगर ४ का वडासदस्य नुरबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार वडाका सबै घरधुरीलाई बिमा कार्यक्रम मार्फत जोडाउने लक्ष्य रहेको बताए । जसमा सबैले साथ दिइरहेको उनको उनको भनाइ छ । मेचीनगर–४ को यो अभियानले विपद्मा जनताको पीडा कम गर्नमात्र नभई, सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने दिशामा नयाँ अभ्यास प्रस्तुत गरेको जानकार बताउँछन् ।
सम्बन्धित खबर