झापा । झापाको चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशियुक्त भनिएको प्रतियोगिता साउन २४ हुने आयोजकले जनाएको छ।
शुक्रबार साँझ चारआलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजक एमडी कन्सल्टेन्सी रहेको उनले जानकारी दिए।
प्रतियोगितामा विजेता विद्यालयले १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ। दोस्रो हुने विद्यालयले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट प्रशिक्षकलाई १५ हजार रुपैयाँ दिइनेछ भने व्यक्तिगत विधामा जित्ने खेलाडीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा भारतका १५ विद्यालयसहित जम्मा ५० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता २० केजीदेखि ५५ केजी तौल समूहसम्म, छात्र र छात्रा गरी दुई विधामा सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालको काठमाडौं, पोखरा लगायतका ठुला सहरका समेत बिद्यालय सहभागी बन्नेछन् । त्यस्तै भारको सिक्कीम, दार्जिलिङ, सिलिगुडी लगायतका स्थानका बिद्यालयहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष लामाले बताए । टाढाबाट सहभागी हुने खेलाडीहरुलाई आयोजकले व्यवस्थापन गर्ने बताएको छ ।
विद्यालयस्तरमै कराते खेललाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामाले बताए। प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च अनुमान गरिएको लामाले बताए ।
पत्रकार सम्मेलनका क्रममा वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई प्रदान गरिने ट्रफीको अनावरण गरेका थिए। कार्यक्रममा एकेडेमीका उपाध्यक्ष बद्री विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सहजिकरण सचिव विशाल घिसिङ तामाङले गरेका थिए।